खेल

एसीसी इमर्जिङ कप क्रिकेटमा नेपालको दोस्रो हार

काठमाडौं-  एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। बंगलादेशको कक्स बजारमा मंगलबार सम्पन्न खेलमा बंगलादेश यु२३ टिमले ८३ रनको जित हात पारेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपाली टोली सामु बंगलादेशले २५८ रनको लक्ष्य दिएको थियो। जसलाई पच्छ्याउने क्रममा नेपाली टोली ४२.३ ओभरमा १७४ रन बनाई अल आउट हुन पुग्यो।

बंगलादेशले खडा गरेको ठूलो चुनौति पच्छ्याउने क्रममा नेपालले गतिलो सुरुवात गर्न सकेन। कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा र अर्का ओपनर सुनील धमला मात्र १ रनमा आउट हुँदा विकेट किपर ब्याट्म्यान दिलिप नाथ र मध्यक्रमका ब्याट्म्यान दिपेन्द्र सिंह ऐरीले नेपाली पारी सम्हाल्ने प्रयास गरे। ८५ बल खेल्दै ऐरीले ५६ रन जोडे भने दिलिप नाथले ६२ बलमा ४१ रनको योगदान गरे। नेपालका लागि विनोद भण्डारीले २३ बलमा ३३ रन थपे। यसबाहेक मेहवुव आलमको १० रन र आषिफ शेखको १२ रनको योगदान रह्यो।

बंगलादेशका लागि राहतुल फर्दोसले ४, मोहमद सैफुद्दिनले ३ र अवुल हसनले २ विकेट लिए। यस अघि नासिर हुसेनको अविजित १०९ रनको मदतले बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाई २५७ रनको योगफल तयार पारेको थियो। बंगलादेशका लागि मोमुनउल हकले ६१ र अवुल हसनले २९ रनको योगदान गरेका थिए। नेपालका लागि अविनास कर्ण ३, सन्दिप लामिछानेले २ विकेट लिएका थिए भने मेहवुव आलम, दिपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्लले १/१ विकेट लिएका थिए।

नेपाली बलरहरुले ५ ओभर भित्र १५ रन नजोड्दै ३ बंगलादेशी ब्याटस्म्यानहरुलाई पेविलियनको बाटो देखाए पनि मोमिनउल हक र नासिर हुसेनले बंगलादेशी पारीलाई सम्हाल्दै ठूलो स्कोर तर्फ अघि बढाएका थिए। यस अघि आइतबार भएको खेलमा नेपाल पाकिस्तान यू २३ टोलीसँग ६ विकेटले पराजित भएको थियो। अब नेपालले बिहीबार हङकङसँग प्रतिष्पर्धा गर्ने छ।

प्रकाशित: १५ चैत्र २०७३ १०:३९ मंगलबार

एसीसी इमर्जिङ कप क्रिकेटमा नेपालको दोस्रो हार