खेल

१९औं एसियाली खेलकुदः तनाव र झगडाबीच कराते खेलाडी छनोट

तनावपूर्ण अवस्थाबाट १९औं एसियाली खेलकुदका लागि नेपाली कराते खेलाडीको अन्तिम खेलाडी छनोट भएको छ।

चीनको होङझावमा आगामी सेप्टेम्बर २३ देखि १९औं एसियाली खेलकुद सुरु हुँदै छ। सोही खेलकुदका लागि सातदोबाटोस्थित कराते हलमा खेलाडीको छनोट भएको थियो। यद्यपि, छनोटको अन्तिम दिन विवाद सिर्जना हुँदा कुटाकुट र तोडफोड भयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका संघका अध्यक्षसमेत रहेका प्रशिक्षक दीपक श्रेष्ठ रेफ्री काउन्सिल गएको भन्दै सुरु भएको विवादले उग्र रूप लिएको हो।  

‘प्रशिक्षक दीपक श्रेष्ठ रेफ्री काउन्सिलमा गएको भन्दै विवाद सिर्जना भयो। जसको कारणले महासंघका सदस्य कृष्ण गौतम र दीपक गुरुबीच भएको विवाद हात हालाहाल भएको थियो। पछि महासंघका सचिव ध्वजमान लामाले रेफ्रीको निर्णय गलत भएको भन्दै कुर्ची तोडफोड गरे। उक्त झडपमा कृष्ण गौतम घाइते भएका छन्। पछि रेफ्री र ध्वजमानबीच हानाहान भएको थियो,’ कराते महासंघका एक पदाधिकारीले भने। प्रशिक्षक श्रेष्ठ र नेपाल कराते महासंघका सदस्यबीच यसअघि नै व्यक्तिगत रिसिबी रहेकाले त्यो खेलमा विवाद सुरु भएको करातेका एक खेलाडीले बताए।

‘उहाँहरूबीच पहिल्यैदेखि व्यक्तिगत रिसिबी रहेछ। त्यहाँ एक बहाना मिल्यो र विवाद सिर्जना भएको हो,’उनले भने। नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले छनोटको विषयमा भन्दा पनि व्यक्तिगत रिसिबीका कारण विवाद उत्पन्न भएको उल्लेख गर्दै सबैले आत्मालोचना गरेका बताए। ‘छनोट विवादरहित भयो। तर, त्यहाँ एउटा सानो विषयलाई लिएर पुरानै रिसिबी देखाउँदै झगडा भयो। त्यो हुनु हुँदैनथ्यो। प्रशिक्षक, रेफ्री र पदाधिकारी सबै पक्षबाट गल्ती भएका छन्। सँगै पछि आत्मालोचना पनि भयो। तीन पक्षलाई खेलभावनाविपरीत काम नगर्न आग्रह गर्छु,’ अध्यक्ष लामाले भने, ‘फेरि यस्ता घटना दोहोरिएमा अनुशासन समितिले पनि कारबाही गर्नेछ।’

‘प्रशिक्षक दीपक श्रेष्ठ रेफ्री काउन्सिलमा गएको भन्दै विवाद सिर्जना भयो। जसको कारणले महासंघका सदस्य कृष्ण गौतम र दीपक गुरुबीच भएको विवाद हात हालाहाल भएको थियो। पछि महासंघका सचिव ध्वजमान लामाले रेफ्रीको निर्णय गलत भएको भन्दै कुर्ची तोडफोड गरे। 

झडप छुट्याउने क्रममा महासंघका महासचिव दावा गुरुङ लडेका थिए। नेपाल कराते महासंघले आयोजना गरेको अन्तिम छनोट प्रतियोगिताबाट पुरुष-महिलामा समान ४÷४ गरी आठ खेलाडी छनोट भएको करातेका प्रमुख प्रशिक्षक तुलसी महर्जनले जनाएका छन्। पुरुषको ६० केजीमुनि सन्तोष श्रेष्ठ, ६७ केजीमुनि मोहम्मद शेख आलम, ८४ केजीमाथि विप्लव श्रेष्ठ र एकल कातामा स्वर्णिम मानन्धर छनोट भए। महिलाको ६७ केजीमाथि आरिका गुरुङ, ६१ केजीमुनि निरूपा तामाङ, ५५ केजीमुनि सविना श्रेष्ठ र एकल कातामा एलिशा रास्कोटी छानिए। एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदै छ।

प्रकाशित: १८ जेष्ठ २०८० ०१:४० बिहीबार

१९औं एसियाली खेलकुदः तनाव र झगडाबीच कराते खेलाडी छनोट