खेल

मनाङ मर्स्याङ्दी फाइनलमा

सर्लाही- हिमालयन शेर्पालाई २–० ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब 'राजर्षि जनक कप' को फाइनलमा पुगेको छ। सर्लाहीको वागमतीमा जारी प्रतियोगिताअन्तर्गत आइतबार मनाङ मर्स्याङ्दीका लागि पहिलो गोल ८०औं मिनेटमा  विमल रानाले गरे। सुशील लामाको क्रस पासलाई हेड गर्दै राना गोल गर्न सफल भए। मनाङ मर्स्याङ्दीका लागि दोस्रो गोल अतिरिक्त समयमा अफिज गोलावालेले गरे। थप गरिएको पहिलो मिनेटमा अफिजले डी एरियानजिकैबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। मनाङ मर्स्याङ्दीका एडोम म्यान अफ दी म्याच भई नगद ५ हजार प्राप्त गरे।

खेलको पहिलो हाफ अत्यन्त प्रतिस्पर्धात्मक भए पनि दोस्रो हाफमा मनाङ मर्स्याङ्दी हाबी भएको थियो। पहिलो हाफमा हिमालयन शेर्पाको पटकपटकको प्रयास मनाङ मर्स्याङ्दीका गोलरक्षक किशोर गिरीले विफल बनाएका थिए।

खेलको १४औ मिनेटमा हिमालयनका एलेक्सले गरेको तिखो प्रहार क्रसबारमा ठोकिएर फर्केको थियो। लगतै १८औ मिनेटमा हिमालयका राजकुमार श्रेष्ठको प्रहार पनि सफल हुन सकेन। डी एरियाको नजिकैबाट श्रेष्ठले गरेको प्रहार खेर गएको थियो।  खेलको २५आंै मिनेटमा हिमालयन शेर्पाका लागि नीराजन मल्लले गरेको प्रहार गोलरक्षक किशोर गिरीले विफल बनाइदिए।

दोस्रो सेमिफाइनल खेल नेपाल आर्मी र सशस्त्र प्रहरीबीच सोमबार हुनेछ।

प्रकाशित: १४ चैत्र २०७३ ०४:२५ सोमबार

मनाङ मर्स्याङ्दी फाइनलमा