खेल

सगरमाथा फेदीमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता

राधा ढुंगाना

सोलुखुम्बु- सर्वोच्च   शिखर सगरमाथाको फेदी सोलुखुम्बुको नाम्चेबजारमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ। पर्यटक भित्र्याउनका लागि नेपालकै सर्बाधिक राशीको भलीबल प्रतियोगिता गर्न लागिएको हो। खुम्बु भ्रमणमा आन्तरिक पर्यटकलाई पनि बढवा दिन भन्दै सगरमाथा दिवस अर्थात मे २९ (जेष्ठ १५) मा नाम्चेबजारमा भलिबल सहित सांस्कृतीक कार्यक्रम गर्न लागिएको आयोजक नाम्चे युवा समूहका उपाध्यक्ष एब खेल संयोजक लामाकाजी शेर्पाले जानकारी दिए।

कार्यक्रम गर्न नेपाल पर्यटन बोर्ड, बिभिन्न ट्रकिङ कम्पनीहरु सहित हिमालय क्षेत्रमा काम गरिरहेको संघसस्थाहरुको साथ रहने जनाइएको छ। खुम्बु क्षेत्रमा बार्षिक ३० देखि ३५ हजारको संख्यामा विदेशी पर्यटक सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गर्ने गरेपनि नेपाली पर्यटकहरु खुम्बु जान नसकेको भन्दै आन्तरिक पर्यटकलाई पनि प्राथमिकता दिनु पर्ने आयोजकको भनाई छ।

प्रतियोगितामा पहिलो पुरस्कार ३ लाख ५१ हजार १ सय ५०,  दोस्रो पुरस्कार, २ लाख ८१ हजार १ सय ५०, तेस्रो पुरस्कार, २ लाख ११ हजार १ सय ५० रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगदका साथ ट्रफि मेडल र प्रमाण पत्रको ब्यबस्था गरिएको छ। यो पुरस्कार राशी नेपालमा संचालित कुनै पनि भलिबल प्रतियोगिता मध्येसबै भन्दा ठूलो राशी भएको आयोजकको भनाई छ।

प्रतियोगिताको उद्घाटन आगामी जेष्ठ ७ गते गर्ने निश्चीत भएको छ। जेष्ठ ४ गते साँझ टिम दर्ता गराइसक्नु पर्ने र टिम दर्ता शुल्क ३ हजार रुपैयाँ राखीएको शेर्पाले बताए। खुल्ला प्रतियोगिता गरिएकाले ख्यातीप्राप्त जुनसुकै क्लब आउन सक्ने तर स्थानीय क्लबहरु पनि सामेल हुने भएकाले एउटा समूहमा दुई भन्दा बढी राष्ट्रिय खेलाडीहरु समावेश गर्न नपाइने नियम बनाइएको आयोजकले जनाएको छ। 

प्रकाशित: १३ चैत्र २०७३ १०:१७ आइतबार

सगरमाथा फेदीमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता