खेल

युवा खेलाडीलाई अवसर

डर्टमन्ड(एएफपी)– विश्वविजेता जर्मनीले बुधबार डर्टमन्डमा इङ्ल्यान्डलाई मैत्रीपूर्ण खेलका लागि आतिथ्यता प्रदान गर्दा दुवै टोलीका प्रशिक्षकले युवा खेलाडीलाई अवसर दिने बताएका छन्।

यो नै जर्मन प्रशिक्षक जोमिनिक लोई र हालै पहिलो पटक इङ्ल्यान्डका प्रशिक्षक नियुक्त भएका ग्यारेथ साउथगेटबीचको समानता हो।

सन् २००६ देखि जर्मनीको प्रशिक्षण सम्हालिरहेका लोई अर्को वर्ष रसियामा हुने फिफा विश्वकप जित्दै उपाधि रक्षा गर्न चाहन्छन्।

उनी आरबी लिपजिगका २१ वर्षे स्ट्राइकर टिमो वार्नरलाई डेब्यु गराउने तयारीमा छन् । कप्तान तथा गोलकिपर म्यानियोल न्युअर भने पिडौलाको चोटका कारण टोलीबाट बाहिरिएका छन् । त्यस्तै डर्टमन्डका विंगर मार्को रियुस ह्यामस्ट्रिङको समस्याका कारण र आक्रामक मिडफिल्डर मारियो गोटेज मेटाबोलिजम डिस्अर्डर का कारण टोलीमा हुने छैनन् । यता हालै पाखुराको शल्यक्रिया गराएका बायर्न म्युनिखका रक्षक जेरोमी बोयटिङ पनि टोलीमा हुनेछन् ।

प्रमुख प्रतियोगितामा जर्मनी र इङ्ल्यान्डको कीर्तिमान फरक हुन सक्छ । इङ्ल्यान्ड आइसल्यान्डसँग पराजित हुँदै युरोकप २०१६ बाट बाहिरिएको थियो भने जर्मनी सेमिफाइनलबाट बाहिरिएको थियो ।

तर जर्मनी आफ्नो चिर प्रतिद्वन्द्वीविरुद्ध घरेलु मैदानमा सन् १९८७ पछि पहिलो जित हात पार्ने दाउमा छ र सन् २००१ मा म्युनिखमा भोगेको ५–१ को लज्जास्पद हारलाई फेरि सम्झन चाहँदैन । त्यस बेला स्ट्राइकर माइकल ओवेनले ह्याट्रिक गरेका थिए ।

यता चोटका कारण ह्यारी केन र ड्यानियल स्टुरेज टोली बाहिर रहनु र कप्तान वाइने रोनी पनि टोलीमा नपर्नुले साउथगेटका लागि अग्रपंक्तिमा चिन्ताको विषय बन्न सक्छ ।

उनले इङ्ल्यान्डको यु–२१ टोलीका कप्तान जेम्स बार्ड पाउसीलाई पहिलो पटक टोलीमा समावेश गर्दै साउथह्याम्पटनका उनका टोली सहयात्री २३ वर्षे नाथन रेडमोन्डलाई टोलीमा समावेश गरेका छन् । उनले ३४ वर्षे जेर्मेन डियुफलाई पनि टोलीमा फिर्ता बोलाएका छन् ।

अर्को आइतबार हुने विश्वकप छनोट खेलमा जर्मनीले बाकुको भ्रमण गर्दै छ भने इङ्ल्यान्डले लिथुआनियालाई आतिथ्यता प्रदान गर्दै छ ।

साउथगेटको नेतृत्वमा इङ्ल्यान्डले खेल्न लागेको यो पाँचांै खेल हो तर गत नोभेम्बरमा मुख्य प्रशिक्षक नियुक्त भएपछि भने उनको यो पहिलो खेल हो ।

साम अलसान्डर बाहिरिएपछि अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका ४६ वर्षे साउथगेटको नेतृत्वमा इङ्ल्यान्डले माल्टा र स्कटल्यान्डलाई पराजित गरेको थियो भने स्पेन र स्लोभानियासँग बराबरी खेलेको थियो ।

‘म सन् १९९६ मा युरोकपको सेमिफाइनल प्रवेश गर्दा टोलीको सदस्य थिए,’ साउथगेटले भने, ‘मेरो विचारमा सकारात्मक नतिजाका लागि हामीले कडा चुनौती दिन जरुरी छ । म कसरी खेल जितिन्छ भन्नेमा केन्द्रित छु ।’

घँुडाको चोटका कारण ड्युनी रोज, ह्यामस्ट्रिङ समस्याका कारण माइकल एन्टोनियो र खुट्टाको चोटका कारण जार्डन हेन्डरसन पनि टोलीमा हुने छैनन् ।

पछिल्लो पटक उनीहरू गत वर्ष एकआपसमा भिडेका थिए । जहाँ टोनी क्रुज र मारियो गोमेजको गोलमा जर्मनी २–० को अग्रता लिएको थियो तर जेम्स भार्डे, केन र इरिक डायरको गोलमा इङ्ल्यान्डले उत्कृष्ट पुनरागमनमा ३–२ को सनसनीपूर्ण जित निकालेको थियो ।

उक्त मैत्रीपूर्ण खेलमा गत वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका स्ट्राइकर लुकास पोडोलोस्कीले जर्मनीका लागि अन्तिम पटक मैदानमा उत्रनेछन् जहाँ उनले टोलीको नेतृत्व गर्नेछन् । यस खेल जर्मनीका लागि उनको १ सय ३०औं खेल हो ।

‘भावनात्मक रूपमा बुधबारको खेल लुकास पोडोलोस्कीलाई बिदाइ गर्ने राम्रो अवसर हो,’ स्ट्राइकर थोमस मुलरले भने, ‘हामी घरेलु मैदानमा खेल्दै छौं र यो उनका लागि केही विशेष रहनेछ।’

 

 

प्रकाशित: ९ चैत्र २०७३ ०४:१२ बुधबार

युवा खेलाडीलाई अवसर