खेल

पूजाराको दोहोरो शतक

राँची- चेतेश्वर पूजाराको दोहोरो शतक र ऋद्धिमन शाहको शतकप्रेरित भारतले राँचीमा जारी अस्ट्रेलियाविरुद्ध तेस्रो टेस्टको पहिलो इनिङमा अग्रता लिएको छ। चौथो दिनको अन्तिम सेसनमा भारतले ६ सय ३ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो। त्यसपछि दोस्रो इनिङ थालेको भ्रमणकारी अस्ट्रेलियाले ओपनर डेविड वार्नरसहित नाथन लियोनलाई गुमाइसकेको छ। चौथो दिनको समाप्तिमा अर्का ओपनर म्याट रेनशो ७ रन बनाएर क्रिजमा छन्। वार्नर १४ र लियोन २ रनमा पवेलियन फर्किएका थिए। अस्ट्रेलियाको दुवै विकेट बायाँहाते स्पिनर रवीन्द्र जडेजाले लिएका थिए।

२३–२ को अवस्थामा रहेको अस्ट्रेलिया अझै १ सय ५२ रनले पछि छ। त्यसअघि ६०३–९ को अवस्थामा भारतले इनिङ समाप्तिको घोषण गर्दा जडेजा ५४ रनमा अविजित थिए भने इशान्त शर्मा शून्य रनको अवस्थामा थिए।

‘हाम्रा स्पिनरप्रति म पूर्ण रूपमा विश्वस्त थिएँ। हामीले राम्रो बलिङ गर्‍यौं,’ पूजाराले भने।

२ सय २ रन पूजाराले १ सय १७ रन बनाएका शाहसँग सातौं विकेटका लागि १ सय ९९ रनको साझेदारी गरेपछि पहिलो दुई सेसन अस्ट्रेलियाका बलर निराश बनेका थिए। ४७औं टेस्ट खेलेका पूजाराको यो तेस्रो दोहोरो शतक हो। पूजारालाई करियरकै उत्कृष्ट इनिङ खेलेका शाहले साथ दिएपछि भारतले अस्ट्रेलियाले बनाएको ४ सय ५१ रन नघाएको थियो।

पूजाराले १ सय ३० र शाहले १८ रनको स्थितिबाट चौथो दिनको सुरुआत गरेका थिए। ५ सय २५ बलमा २१ चौका प्रहार गरेका पूजारा बल सामनाका हिसाबले सबैभन्दा लामो इनिङ खेल्ने भारतीय टेस्ट खेलाडी बनेका छन्।

‘घरेलु मैदानमा लामो इनिङ खेल्न म अभ्यस्त छु,’ पूजाराले भने, ‘अनुभवले धेरै महŒव राख्छ। मैले ब्याटिङ गरिरहँदा उनीहरूको योगफल नजिक पुगौं भन्ने सोच्थंे। मैले अलि धेरै सट प्रहार गर्नुपर्थ्यो तर मैले आफुलाई नियन्त्रणमा राखें।’

२९ वर्षे पूजाराले यसअघि २०१२ मा इङ्ल्यान्डविरुद्ध बनाएको २ सय ६ रन उच्च स्कोर थियो। उनले लियोनको बलाई लेगअफ पठाउँदै दोहोरो शतक पूरा गरेका थिए। तर, लियोनकै अर्को ओभरमा उनी म्याक्सवेलबाट क्याच भएका थिए। पूजारा पवेलियन फर्किंदा दर्शकले उठेर सम्मान व्यक्त गरेका थिए। त्यस्तै अस्ट्रेलियाका खेलाडीले पनि उनीसँग हात मिलाएका थिए। ७ चौका र १ छक्का प्रहार गरेका शाहलाई बायाँहाते स्पिनर स्टिभ ओ‘किफले आउट गरेका थिए।

‘मैले अहिलेसम्म पूरा गरेको ३ शतकमध्ये यो सबैभन्दा रोमाञ्चक रह्यो,’ शाहले भने, ‘हामीलाई ठूलो साझेदारीको आवश्यकता थियो। पूजारा धैर्यवान् खेलाडी हुन्। सदैव उनले सक्दो राम्रो गर्ने प्रयास गर्छन्। आशा गरौं अन्तिम दिन हाम्रा बलरले राम्रो गर्नेछन्।’

नवौं नम्बरमा ब्याटिङ गर्न आएका जडेजाले उमेश यादवसँग नवौं विकेटका लागि ५४ रनको साझेदारी गरे। अस्ट्रेलियाका पेट कुमिन्सले ४ विकेट हात पारे भने स्पिनर ओ‘किफले ३ विकेट लिए। जोस हाज्लेउड र लियोनको नाममा १/१ विकेट रह्यो।

प्रकाशित: ७ चैत्र २०७३ ०४:४० सोमबार

पूजाराको दोहोरो शतक