खेल

बाग्मती प्रदेश खेलकुदमा काठमाडौं च्याम्पियन

अन्तिम दिन तीन स्वर्णको प्रतिस्पर्धा बाँकी रहँदा नै जारी दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगितामा काठमाडौं च्याम्पियन बन्ने निश्चित भएको छ। प्रदेश खेलकुद विकास परिषद् बाग्मती प्रदेशको आयोजनामा भएको सातदिने बृहत् प्रदेश खेलकुद शनिबार सम्पन्न हुँदै छ। उक्त खेलकुद सम्पन्न हुन एक दिन बाँकी छँदा नै काठमाडौं च्याम्पियन बन्ने पक्का भएको हो। हेटौँडास्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार रग्बीको महिला र पुरुष तथा पुरुष फुटबलको फाइनल खेल गरी कुल तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछन्। यद्यपि, यी खेलका नतिजाले शीर्ष पाँचको वरीयतामा नै फरक हुने छैन। शीर्ष स्थानको काठमाडौंले ३१ स्वर्ण, २१ रजत र २५ कांस्य जितेको छ।

काठमाडौंले शनिबार मकवानपुरविरुद्धको पुरुष फुटबलको फाइनल जितेमा स्वर्ण संख्या बढाउनेछ। दोस्रो स्थानको चितवनले २३ स्वर्ण, २४ रजत र २५ कांस्य जितेको छ। तेस्रो स्थानको काभ्रेले २२ स्वर्ण, १३ रजत र १८ कांस्य तथा ललितपुरले १९ स्वर्ण, २६ रजत र २७ कांस्य जितेका छन्। ललितपुरले शनिबार महिला रग्बीको फाइनलमा मकवानपुरविरुद्ध चुनौती प्रस्तुत गर्दै छ। उक्त फाइनल जितेमा ललितपुरले पनि स्वर्ण संख्या बढाउनेछ। मकवानपुरले घरेलु मैदानमा अन्तिम दिन तीनै स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छ। ती फाइनलमा सफलता प्राप्त गरेमा मकवानपुर सिन्धुपाल्चोकलाई पछि पार्दै पाँचौं स्थानमा रहँदै दोस्रो संस्करणको समापन गर्नेछ। शनिबार तीनवटा फाइनल सम्पन्न भएसँगै दोस्रो संस्करणमा १ सय ६८ स्वर्ण पदकको टुङ्गो लाग्नेछ। आठ खेलको प्रतिस्पर्धा भएको गत संस्करणमा चितवन च्याम्पियन बन्दा काठमाडौं दोस्रो स्थानमा खुम्चिएको थियो। यस संस्करणमा कुल १३ खेलको प्रतिस्पर्धा भएको थियो।  

यी खेलमध्ये यसै पटक समावेश गरिएको पौडीको पदक भने पदकतालिकामा समावेश गरिएको छैन। शनिबार हेटौंडाको पिप्लेस्थित क्याम्पा रंगशालामा एक समारोहका बीच समापन हुँदै छ। यससँगै कुल दुई हजार पाँच सय दुई खेलाडीले प्रतिस्पर्धा गरेको सातदिने खेलकुदको सम्पन्न हुनेछ। खेलकुदमा स्वर्ण विजेताले पाँच हजार, रजत विजेता चार हजार र कांस्य विजेताले तीन हजार पुरस्कार प्राप्त गरेका छन्।  

डेब्यु खेलमा मकवानपुरको उदय

बागमती प्रदेश खेलकुदमा रग्बीले पहिलोपटक प्रतिस्पर्धा गरेको हो। यसै संस्करणदेखि राखिएको रग्बी प्रतियोगितामा मकवानपुरको महिला र पुरुष दुवै टोली फाइनलमा प्रवेश गरेका छन्। मकवानपुर पुरुष र महिला टोली हेटौँडामा जारी दोस्रो बाग्मती प्रदेश खेलकुदअन्तर्गत रग्बी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका हुन्। पिप्ले क्याम्पा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा मकवानपुरले महिलामा चितवन र पुरुषमा रामेछापमाथि जित निकाल्दै स्वर्ण प्रतिस्पर्धाको यात्रा तय गरेका हुन्। महिलामा मकवानपुरले चितवनलाई ४९–० स्कोरको फराकिलो अन्तरले हरायो। मकवानपुरको जितमा मनीषा घिसिङ एक्लैले पाँच ट्राइ गरिन्।

पुष्पा खड्का तीन ट्राइ र शृसा लोप्चन एक ट्राइ गर्न सफल भए। पुरुषमा भने मकवानपुरले रामेछापलाई २५–० ले हरायो। मकवानपुरका लागि विशेक बछार, सुजन लोप्चन, विक्रम भारती र अभि राईले समान एक ट्राइ गरे। महिलाको अर्को सेमिफाइनलमा ललितपुरले काठमाडौंमाथि ७–० स्कोरको जित निकाल्दै मकवानपुरसँगको भेट पक्का गर्यो। पुस्तिका वाग्लेले एक ट्राइ र एक कनभर्जन किक प्रहार गरिन्। पुरुषकै अर्को सेमिफाइनलमा भक्तपुरले काभ्रेलाई २९–० स्कोरले हरायो। भक्तपुरका लागि गणेश बानियाले तीन ट्राइ, सुरज रानाले दुई ट्राई र नीरज कार्कीले दुई कनभर्जन किक प्रहार गरे। पुरुषमा आठ जिल्ला र महिलामा पाँच जिल्लाले प्रतिस्पर्धा गरेका थिए।  

पुरुष क्रिकेटमा चितवनलाई स्वर्ण

चितवनले जारी दोस्रो बाग्मती प्रदेश खेलकुदमा शुक्रबार पुरुष क्रिकेट प्रतियोगितामा स्वर्ण जितेको छ। महिला क्रिकेटको उपाधि भने काठमाडौंले जितेको थियो। चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा ललितपुरमाथि ३६ रनको जित निकाल्दै चितवनले स्वर्ण जितेको हो। निर्धारित २० ओभरमा १६७ रनको लक्ष्य पछ्याएको ललितपुरले आठ विकेट गुमाउँदै १३० रन मात्र जोडेपछि चिवतनले सहज जित निकाल्यो। चितवनका बलरले उत्कृष्ट बलिङ गरेपछि ललितपुरका ब्याटर लामो समयसम्म क्रिजमा टिक्न सकेनन्। चितवनका बलर दिवस आचार्यले पाँच विकेट लिँदै ललितपुरको इनिङ धरासयी बनाए।  प्रतियोगितामा काठमाडौंका ईशान पाण्डे प्लेयर अफ दी सिरिज भए। काठमाडौंकै मनोज यादव उत्कृष्ट बलर र चितवनका प्रतीक श्रेष्ठ उत्कृष्ट ब्याटर घोषित भए। विजेतालाई प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद विकास परिषद्, बाग्मती प्रदेशका कार्यलय प्रमुख देवनारायण चौधरीलगायतले पुरस्कृत गरे।

प्रकाशित: १३ जेष्ठ २०८० ०१:४२ शनिबार

बाग्मती प्रदेश खेलकुदमा काठमाडौं च्याम्पियन