खेल

खेलकुदमा उचित बजेट विनियोजनका लागि पहल गर्छुः मन्त्री लिम्बू

फाईल तस्बिर

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आउँदै गरेको बजेटमा खेलकुद क्षेत्रलाई सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने बताएका छन्।

आज युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद् प्रतिभा एवं खेलकुद पत्रकारिता गरेका व्यक्तिलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले आउँदै गरेको बजेटमा खेलकुदलाई क्षेत्र सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने बताएका हुन।

खेलाडीहरुले बजेटका कारण पर्याप्त अभ्यास गर्न नपाएको र पटकपटक बजेटका लागि आग्रह गरिरहनुपर्ने अवस्था रहेको भन्दै बजेटका लागि माग गरे अनुसार उपलब्ध गराउन प्रयास गर्ने मन्त्री लिम्बूले बताए। बजेट निकास हुने भन्दै आशावादी हुन मन्त्रीले खेलाडीहरुलाई आग्रह समेत गरे।

यस्तै लिम्बूले बजेट कस्तो माग गर्ने भन्ने विषयमा सरोकारवालसँग छलफल गर्ने समेत बताए। युवा तथा खेलकुद मन्त्रालयले शुक्रवार ६ खेलाडीसहित, प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी ९ जनालाई नगदसहितसम्मान गरेको छ।

खेलाडीतर्फ उसुका विश्व बुढा मगर र मिना ग्लान, तेक्वान्दोका गिता विष्ट, निरज देउवा र प्रेमकुमार दर्नाल तथा पारा बास्केटबल खेलाडी रामबहादुर तामाङ सम्मानित भए। प्रशिक्षकमा कराँतेकी तारा गुरुङ श्रेष्ठ, निर्णायकमा तेक्वान्दोका दीपेन्द्र ढकाल र खेल चिकित्सकमा प्रा.डा. नवीसमान सिंह प्रधान सम्मानित भए। सबैलाई जनही १ लाखसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरियो। यसैबीच खेलकुद मन्त्रालयले १० जनालाई खेल पत्रकारिता समान तथा प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको छ।

सेतोपाटी अनलाइनका सिताराम कोईराला खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानबाट पुरस्कृत भए। उनले ५० हजार नगदसहित प्रशंसा पत्र पाए।

प्रकाशित: १२ जेष्ठ २०८० १३:१२ शुक्रबार

खेलकुदमा उचित बजेट विनियोजनका लागि पहल गर्छुः मन्त्री लिम्बू