खेल

भक्तपुरमा खुला बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुरको गोल्मढीस्थित युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला र्‍यापिड बुद्धिचाल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता जेठ १२ र १३ गते दुई दिन हुने छ।

टिमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता भएको हो। ग्वाछाको झण्डै महिना दिन अघि अल्पायुमै अकल्पनीय निधन भएको थियो। उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए।

प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका गरी एक सय २० जना भन्दा बढी प्रतिस्पर्धीहरू प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा विदेशी खेलाडीहरूसमेत सहभागी रहेको जनाइएको छ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था रहेको आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले बताए। उनका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई नगद २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था रहेको छ। साथै चौथौँ हुनेलाई आठ हजार, पाँचौँ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँच हजार नगद पुरस्कारको व्यवस्था रहेको छ।

भक्तपुर युवा टिम भक्तपुरकै एउटा पुरानो खेलकुद टिम हो। यसले प्रत्येक वर्ष भक्तपुर कप खुल्ला फुटबल प्रतियोगिता गर्दै आइरहेको छ। टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले प्रतियोगिताको उद्घाटन गरेका थिए।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, भक्तपुर नगरपालिका खेलकुद समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं १ का अध्यक्ष श्यामकृष्ण खत्री, आयोजक टिमका अध्यक्ष केशव त्वानाबासु, पूर्व अध्यक्ष तुल्सीराम ग्वाछा, मृतक ग्वाछाका सुपुत्रलगायतले बुद्धिचाल खेलका विविध पक्षबारे चर्चा गरे।

प्रकाशित: १२ जेष्ठ २०८० ०८:५४ शुक्रबार

बुद्धिचाल