नेपालगन्ज- अग्नि रूपन्देही–११ ले ‘टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकप प्रतियोगिता’ को उपाधि हात पारेको छ। सहिद स्मारक 'ए' डिभिजन लिगको टोली सिएमजी संकटा क्लबलाई सडन डेथमा हराउँदै रूपन्देहीले उपाधि जितेको हो।
निर्धारित समयमा १–१ को बराबरी भएपछि टाइब्रेकरमा धकेलिएको खेलले त्यहाँबाट पनि स्पष्ट नतिजा पाएन। टाइब्रेकरमा ४–४ को बराबरी भयो। त्यसपछि निर्णयार्थ सडन डेथमा पुगेको खेलमा नतिजा हत्याउँदै रूपन्देहीले संकटाको सिजनमा चौथो उपाधि जित्ने लक्ष्य पूरा हुन दिएन।
सडन डेथमा नतिजा हात पार्न रूपन्देहीले तेस्रो पेनाल्टीसम्म कुर्नुपरेको थियो। जहाँ रूपन्देहीका लागि अजय थापा र गौरव बुढाथोकीले गरेको गोल निर्णायक बन्यो। संकटाका विदेशी खेलाडी मर्टिन्सले मात्र सडन डेथमा गोल गर्न सके।
संकटाका राज पौडेलको प्रहार पोस्टबाहिर गयो भने विदेशी खेलाडी लबलको प्रहार पनि सफल भएन। लबलको प्रहार पोलमा ठोक्किएर फर्किएको थियो। रूपन्देहीका अजय विकको प्रहारलाई संकटाका गोलकिपर अजय महर्जनले बचाएका थिए।
निकै प्रतिस्पर्धात्मक खेलको ६५औं मिनेटमा अनिल गुरुङले पेनाल्टीमार्फत गोल गरेपछि वर्षको सातौं फाइनल खेलिरहेको संकटा चौथो उपाधिनजिक पुगेको थियो। तर त्यसपछि रूपन्देही आक्रामक रूपमा प्रस्तुत हुँदा संकटाको लक्ष्य पूरा भएन। समय सकिन एक मिनेट बाँकी रहँदा रूपन्देहीका शिव सुवेदीले उत्कृष्ट गोल गर्दै खेललाई पेनाल्टी सुटआउटतर्फ धकेले।
उपाधिसँगै रूपन्देहीले नगद ५ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता संकटाले २ लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित रूपन्देहीका अमर डंगोलले सुजुकी मोटरसाइकल र लेनोभो मोबाइल सेट प्राप्त गरे। यस्तै फाइनलका म्यान अफ दी म्याच रूपन्देहीकै शिवले मोबाइल सेट प्राप्त गरे।
यसै गरी अग्नि रूपन्देहीका विदेशी खेलाडी मुसा उत्कृष्ट रक्षक, संकटाका प्रशिक्षक सल्यान खड्गी उत्कृष्ट प्रशिक्षक, संकटाकै अजय मर्हजन उत्कृष्ट गोलकिपर, रूपन्देहीका गौरव बुढाथोकी उत्कृष्ट मिडफिल्डर तथा संकटाका विदेशी खेलाडी मर्टिन्स उत्कृष्ट स्ट्राइकर घोषित भए। उनीहरूले जनही ५ हजार रुपैयाँ पाए। बाँके जिल्ला फुटबल संघको आयोजनामा फागुन २६ गते सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी थिए।
प्रकाशित: ४ चैत्र २०७३ ०४:०५ शुक्रबार