खेल

मुस्ताङको लेतेमा जेठ तेस्रो तारा खेल प्रतियोगिता

गतवर्षदेखि प्रदेश खेलकुद परिषद गण्डकीले परम्परागत खेललाई प्राथमिकतामा राख्दै आएको छ। विशेष गरी हिमाली जिल्लामा खेलिने परम्परागत तारा खेल (बाँसको धनुष र निगाालोको शर प्रयोग गरेर खेलिने खेल) र पहाडी जिल्लाका ग्रामीण क्षेत्रमा खेलिने ठेलो खेललाई परिषदले संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यसहित प्रतियोगिताको रुपमा आयोजना गर्दै आएको छ।  

योवर्ष तारा खेल मुस्ताङमा आयोजना गर्ने निर्णय गरिएको छ। गतवर्ष तारा हान्ने खेल मनाङमा आयोजना गरिएको थियो। मुस्ताङको थासाङ गाँउपालिकास्थित लेतेमा आयोजना गरिएको परिषदका सदस्य एवं प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले जानकारी दिए। उनका अनुसार प्रतियोगिता यही जेठ १७ र १८ गते हुनेछ। गतवर्ष मनाङमा तारा खेलसँगै घोडा दौड समेत आयोजना गरिएको थियो।  

तारा खेलतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमश नगद ७५ हजार, ५० हजार र ३० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी सर्वश्रेष्ठ धर्नुधरले नगद ५ हजार र विशिष्ट धर्नुधरले नगद ३ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र मनाङ जिल्लाबाट सहभागि हुनेछन्। प्रत्येक जिल्लाबाट एक टिममा ६ जना सहभागि हुन पाउने प्रावधानसहित जिल्लाहरुलाई सहभागिताको लागि सूचित गरिएको उनले बताए।  

त्यसैगरी जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा ठेलो हान्ने प्रतियोगिता आयोजना गरिएको संयोजक शेरचनले सुनाए। ठेलो खेलका लागि ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्रचार गरिएको उने बताए। जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने ठेलो खेलमा प्रथम, द्वितीय र तृतिय हुने खेलाडीले क्रमश नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त खेलमा सहभागिताका लागि ३ जनाको नाम परिषदमा पठाउन पत्रचार गरिएको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ।  

प्रकाशित: ७ जेष्ठ २०८० ०९:३१ आइतबार

मुस्ताङको लेते तारा खेल