खेल

सातदोबाटो चौथो स्थानमा उक्लियो

विलियम ओपुकुको दुई गोलप्रेरित सातदोबाटो युथ क्लब ललितपुर डर्बीमा थ्री स्टार क्लबमाथि २-० को जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको २४औं मिनेटमा विलियमको गोलमा सातादोबाटोले अग्रता लिएको थियो। मध्यान्तर पछिको दोस्रो मिनेटमै विलियमले फ्रिकिकमा गोल गर्दै सातदोबाटोको अग्रता दोब्बर पारेका थिए। यससँगै सातदोबाटो १९ खेलबाट २९ अंकसहित चौथो स्थानमा उक्लिएको हो। थ्री स्टार क्लबको भने समान खेलबाट २६ अंक छ। थ्री स्टार क्लब पाँचौं स्थानमा छ। थ्री स्टारले पछिल्ला आठ खेलमा जित निकाल्न सकेको छैन।

सातदोबाटो युथ क्लब ललितपुर डर्बीमा थ्री स्टार क्लबमाथि २-० को जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ। हारपछि थ्री स्टार भने पछिल्ला आठ खेलमा जित निकाल्न असफल रह्यो।

यस क्रममा थ्री स्टारले एक जित र पाँच खेल बराबरी खेलेको छ। तीन खेलको नतिजा भने थ्री स्टारले सुम्पिन पुग्यो। लिगको पहिलो चरणमा भएको भेटमा भने थ्री स्टारले सातदोबाटोलाई हराएको थियो। थ्री स्टार र सातदोबाटोको खेलसँगै लिगमा १९औं चरणका खेलहरू समापन भएका छन्।

यसै सिजन मात्र ‘ए’ डिभिजन लिगमा बढुवा भएको चर्च ब्वाइज युनाइटेड शीर्ष स्थानमा यथावत छ। बालगोपाल महर्जनको टोली चर्च ब्वाइजको १९ खेलबाट ३६ अंक छ। जुन दोस्रो स्थानको जावलाखेल युथ क्लबभन्दा चार अंक बढी हो।

पहिलो चरणमा लिगको शीर्ष स्थानमा रहेको जावलाखेलले दोस्रो चरणमा भने आशातित नतिजा निकाल्न सकेको छैन। बिहीबार सम्पन्न खेलमा जावलाखेल युथ क्लब न्युरोड टिम (एनआरटी) सँग १-१ को बराबरीमा रोकिएको थियो। यता, शीर्ष स्थानको चर्च ब्वाइजलाई पछ्याइरहेको अर्को टोली साबिकको विजेता मच्छिन्द्र फुटबल क्लब भने १९ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा छ। मच्छिन्द्र बिहीबार नै पे्रmन्ड्स क्लबसँग २-२ को बराबरीमा रोकिएको थियो।

पहिलो चरणमा लिगको शीर्ष स्थानमा रहेको जावलाखेलले दोस्रो चरणमा भने आशातित नतिजा निकाल्न सकेको छैन।

जुन नतिजाका कारणले उपाधिमा ह्याट्रिक गर्ने मच्छिन्द्रको लक्ष्यमा धक्का लागेको थियो। छैटौं स्थानको त्रिभुवन आर्मी फुटबल क्लबको १९ खेलबाट २६ अंक छ। एकै सिजन बढुवा भएको चर्च ब्वाइज उपाधितर्फ अग्रसर रहँदा १९ खेलमा १८ अंक मात्र जोडेको एफसी खुमलटार भने रेलिगेसनको प्रबल दाबेदारको रूपमा देखिएको छ।

यता गत सिजनझै यस सिजन पनि फ्रेन्ड्स क्लबमाथि रेलिगेसनको दबाब बढेको छ। फ्रेन्ड्सको १९ खेलबाट २१ अंक छ। जुन १४औं स्थानको खुमलटारको भन्दा मात्र तीन अंकले बढी हो। दशौं, ११औं र १२औं स्थानका एपिएफ, संकटा क्लब र नेपाल पुलिस क्लबको भने १९ खेलबाट २२ अंक छ।

प्रकाशित: ७ जेष्ठ २०८० ०२:३७ आइतबार

विलियम ओपुकु सातदोबाटो युथ क्लब ललितपुर