खेल

सुदुर पश्चिमको विजयी सुरुआत

नेपालगन्ज- भारतको दिल्ली युनाइटेड क्लबविरुद्ध एरोनले गरेको  गोलमार्फत साबिक विजेता सुदूरपश्चिम–११ ले ‘टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकप' फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। सुदूर पश्चिमका तर्फबाट विदेशी खेलाडी एरोनले पहिलो हाफको २२औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। निकै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा कयौं पटक दुवै पक्षले गोल गर्ने अवसर प्राप्त गरे पनि सदुपयोग भने गर्न सकेनन्। खेलमा सुदूर पश्चिमले ५ र दिल्ली युनाइटेडले २ वटा पहेंलो कार्ड पाए। दिल्लीका कप्तान डनछिरिङ लेप्चा म्यान अफ दी म्याच घोषित भए। उनले लेनोभो कम्पनीको मोबाइल सेट प्राप्त गरे।

सुदूर पश्चिमका प्रशिक्षक ललित चन्दले आफ्ना खेलाडीले राम्रो  खेलेर नै नतिजा आएको बताए। ‘दिल्लीसँग खेल्न हामीलाई निकै गाह्रो थियो,’ उनले भने ‘खेलाडीले सोचेजति खेल्न सकेनन्, तर पनि राम्रै  खेले।’ आगामी खेलमा अझ राम्रो तयारी गरेर मैदान छिर्ने चन्दले बताए। सुदूर पश्चिमका कप्तान प्रणय अन्जनले पहिलो पटक विदेशी खेलाडीसँग खेल्दा समन्वय नमिले पनि जित आफ्नो पक्षमा आउँदा फाइनलसम्म पुग्ने मनोबल बढेको बताए। ‘विदेशी खेलाडीसँग पहिलो पटक खेल्दा त्यति समन्वय हुन सकेन, अब उनीहरूसँग समन्वय गरेर खेल्छौं,’ उनले भने।

पराजयसँगै दिल्ली युनाइटेट घर फर्किएको छ। उक्त क्लब इन्डियन लिगको बी डिभिजनअन्तर्गतको क्लब हो। दिल्ली युनाइटेडका प्रशिक्षक अन्सुल कटियारले राम्रो खेल प्रदर्शन गर्दा पनि दुर्भाग्यवश पराजय बेहोर्नुपरेको बताए। दिल्लीका कप्तान डनछिरिङ लेप्चाले प्रयास गर्दागर्दै गोल गर्न नसकेकोे बताए। सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गरेको उनको भनाइ थियो।

गोल्ड कपको बिहीबार दिउँसो फुटबल संघ (एन्फा) अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए। प्रतियोगिताअन्तर्गत शुक्रबार नेपालगन्ज–११ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ।

प्रकाशित: २७ फाल्गुन २०७३ ०४:०६ शुक्रबार

सुदुर पश्चिमको सुरुआत