खेल

एपिएफलाई प्रधानमन्त्री कप क्रिकेट

इटहरी- एपिएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार एपिएफले सुदूर पश्चिमलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। रितु कनोजियाले ३ र सीता रानामगरले १ विकेट लिएपछि सुरुमा ब्याटिङ गरेको सुदूर पश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा ५७ रन मात्र जोड्न सकेको थियो।

सुदूर पश्चिमका लागि सम्झना खड्काले १६ रनबाहेक अन्यले दोहोरो स्कोर जोड्न सकेनन्। जबाफमा एपिएफले १४.१ ओभरमा २ विकेटको नोक्सानीमा लक्ष्य पूरा गरेको थियो। एपिएफका लागी सरिता मगरले सर्वाधिक २२ र सीता रानामगरले १६ रन बनाए। सुदूर पश्चिमकी रेखा रावलले १ विकेट लिइन्।

एपिएफकी सीता प्रतियोगिताको प्लेयर अफ दी वुमनबाट पुरस्कृत भइन्। उनले  १० हजार रुपैयाँ पाएकी थिइन्। एपिएफकी रितु प्लेयर अफ दी फाइनल र उत्कृष्ट बलर, सुदूर पश्चिमकी रेखा उत्कृष्ट ब्याट्सम्यानबाट पुरस्कत भए। रितु र रेखाले समान ५ हजार रुपैयाँ पाए। प्रतियोगिताको विजेता एपिएफले १ लाख र उपविजेता सुदूर पश्चिमले ५० हजार रुपैयाँ प्राप्त गरे।  विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव केशवकुमार विष्ट, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति सदस्य गणेश बुढाथोकी, नागरिक समाज इटहरी अध्यक्ष कमलेश पौडेल, प्याब्सन सुनसरी अध्यक्ष सुमित थापा, हिसान सुनसरी अध्यक्ष मुकुन्द घिमिरे र उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टलगायतले पुरस्कृत गरेका थिए।

फागुन २० गतेदेखि राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगितामा पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल, सुदू्र पश्चिमाञ्चल र एपीएफको महिला टिमले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २६ फाल्गुन २०७३ ०४:५३ बिहीबार

एपिएफलाई प्रधानमन्त्री कप क्रिकेट