खेल

पुनरागमन प्रयासमा भारत

बेङ्लोर- चेतेश्वर पूजाराको अविजित अर्धशतकप्रेरित भारतले बेङ्लोरमा जारी अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा पुनरागमन गरेको छ। तेस्रो दिनको समाप्तिमा घरेलु टोली भारत ४ विकेट गुमाई २ सय १३ रन बनाएर खेलिरहेको छ। पहिलो इनिङमा फराकिलो अग्रता लिने अनुमान गरिए पनि रवीन्द्र जडेजाले उत्कृष्ट बलिङ गरेपछि अस्ट्रेलियाले ८७ रनको मात्र अग्रता लियो।

पूजारा ७९ र अजिन्क्या रहाने ४० रन बनाएर क्रिजमा छन्। पूजारा र रहानेले पाँचांै विकेटका लागि ९३ रनको अविजित साझेदारी गरेपछि तेस्रो दिनको समाप्तिमा भारतले १ सय २६ रनको अग्रता लिएको थियो। चिन्नास्वामी रंगशालामा दुईले १२०–४ को स्थितिबाट भारतको इनिङ सम्हालेका हुन्।

पूजाराले सम्हालिँदै लामो इनिङ खेलेपछि अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले बलिङमा सबै विकल्प प्रयोग गरेका थिए। पूजारालाई रहानेले साथ दिएका थिए। १ सय ५ बल खेलेका रहानेको ब्याटबाट खराब सट प्रहार भएन। रहानेले ३ चौका प्रहार गरे।

४६औं टेस्ट खेलिरहेका २९ वर्षे पूजाराले १४औं अर्धशतक पूरा गरे। नाथन लियोनको बलमा कप्तान स्मिथले स्लिपमा छाडेको क्याच अस्ट्रेलियालाई महँगो साबित भयो। १ सय ७३ बल खेलेका पूजाराले ६ चौका प्रहार गरेका छन्।

तथापि जस हाज्लेउडले भारतको अग्रपंक्तिका ब्याट्सम्यानलाई आउट गर्ने क्रममा कप्तान विराट कोहलीलाई १५ रनमा पवेलियनको बाटो देखाए। एलबिडब्लु आउट भएका कोहलीले रिभ्यु अपिल गरे पनि सफल हुन सकेनन्। उनले मैदान छाड्दा रंगशाला पुनः एकपटक शान्त बनेको थियो। चियासत्रअघि हाल्जेउडले २ रन बनाएका जडेजालाई बोल्ड गरे। त्यसअघि उनले ओपनर अभिनव मुकुन्दलाई १६ रनमा पवेलियन फर्काएका थिए। पहिलो इनिङमा सबैभन्दा ९० रन बनाएका लोकेश राहुललाई स्टिभ ओ’किफले कप्तान स्मिथमार्फत क्याच गरे। ८५ बल खेलेका राहुलले ४ चौकासहित ५१ रन जोडे।

त्यसअघि बिहानी सत्रमा जडेजाले ३ विकेट लिएपछि अस्ट्रेलियाले पहिलो इनिङमा सबै विकेट गुमाएर २ सय ७६ रन बनायो। बायाँहाते स्पिनर जडेजाले ६३ रन दिएर ६ विकेट लिए।

अस्ट्रेलियाले २३७–६ को स्थितिबाट तेस्रो दिनको शुरुआत गरेको थियो। म्याथ्यु वेड २५ र मिचेल स्टार्क १४ रनको स्थितिमा थिए। वेडले ४० रन बनाउँदा जडेजाको बलमा एलबिडब्लु आउट भए। २६ रन जोडेका स्टार्क रविचन्द्रन आश्विनको बलमा जडेजाबाट क्याच भए। ओ‘किफ ४, हाज्लेउड १ र नाथन लियोन शून्य रनमा आउट भए। ४ खेलको शंृखलामा अस्ट्रेलिया १–० ले अघि छ। पुनेमा सम्पन्न पहिलो टेस्टमा भारत ३ सय ३३ रनले पराजित भएको थियो।

प्रकाशित: २४ फाल्गुन २०७३ ०४:५० मंगलबार

पुनरागमन प्रयासमा भारत