खेल

लियोनको ८ विकेटले भारत थच्चियो

बेंगलोर- अफ स्पिनर नाथन लियोनले करियरकै उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेट लिएपछि भारतविरुद्धको दोस्रो टेस्टमा अस्ट्रेलियाले राम्रो शुरुआत गरेको छ। लियोनले ५० रन दिएर ८ विकेट लिएका थिए, जुन भारतीय भूमिमा भ्रमणकारी बलरले गरेको सबैभन्दा राम्रो प्रदर्शन हो। स्पिनर लियोनले उत्कृष्ट प्रदर्शन गरेपछि टस जितेर ब्याटिङ गरेको भारत पहिलो इनिङमा १ सय ८९ रनमा अलआउट भयो।

पहिलो दिनको समाप्तिमा अस्ट्रेलिया बिनाविकेट क्षति ४० रन बनाएर खेलिरहेको छ। ओपनर डेविड वार्नर २३ र म्याट रेनशो १५ रन बनाएर क्रिजमा खेलिरहेका छन्। पहिलो इनिङमा अस्ट्रेलिया अझै १ सय ४९ रनले पछि छ।

लियोनले भारतका कप्तान विराट कोहली र सबैभन्दा धेरै रन बनाएका लोकेश राहुलको महत्वपूर्ण विकेट लिएका थिए। पहिलो खेलको पहिलो इनिङमा डक आउट भएका कोहली १२ रनमा पवेलियन फर्किए। लोकेशले ९० रन बनाए। यसअघि दक्षिण अफ्रिकाका लेन्स क्लुसेनरले १९९६ मा कोलकातामा ६४ रन दिएर ८ विकेट लिएका थिए।

‘भारतीय अफ स्पिनर रविचन्द्रन आश्विनले यहाँ कसरी राम्रो बलिङ गर्छन् भनेर मैले धेरै अध्ययन गरें। उनी विश्वकै उत्कृष्ट स्पिनर हुन्। मैले उनलाई अध्ययन गरे राम्रो गर्न सक्छु भन्ने लाग्यो,’ लियोनले भने, ‘कडा मिहिनेतको प्रतिफल पाउँदा सन्तुष्ट छु।’

लियोनले पूर्वविकेटकिपर डारेन बेरी र अस्ट्रेलियाका स्पिन कन्सल्ट्यान्ट जोन ड्याभिसनलाई पनि आफ्नो सफलताको श्रेय दिए। यी दुईसँग लियोनले करियरको भिन्नभिन्न समयमा काम गरेका थिए।

चार खेलको शृंखलामा भारतको ब्याटिङ लाइनअफले राम्रो गर्न नसकेको यो तेस्रो पटक हो। यसअघि पहिलो खेलको पहिलो इनिङमा १ सय ५ रन बनाएको भारत दोस्रो इनिङमा १ सय ७ रनमा आउट भएको थियो।

तर, पुनेको तुलनामा बेंगलोरको पिच फरक मानिएको थियो। चिन्नास्वामी रंगशालामा पछिल्ला सात टेस्टको पहिलो इनिङमा औसत ४ सय ५१ रन बनेको थियो। म्याचरेफ्रीले खराब पिच भनेर प्रतिवेदन बुझाएको पुने पिचभन्दा बेेंगलोरको पिचलाई राम्रो मानिएको थियो।

लियोनले लन्चपछि विकेट लिन सुरु गरेका थिए। उनले विराट कोहलीलाई १२ रनको अवस्थामा एलबिडब्लु आउट गरेका थिए। पहिलो टेस्टमा कोहली बायाँहाते स्पिनर स्टिभ ओ’किफको बलिङमा बोल्ड भएका थिए।

‘रोमाञ्चक विकेट थियो। जुन हामीले यहाँ चाहेका थियौं। विकेटमा धेरै घाँस छैन भनेर हामीलाई थाहा थियो,’ यसअघि २०१३ मा दिल्लीमा ९४ रन दिएर ७ विकेट लिएका लियोनले भने, ‘पहिलो दिनमा क्रिज धेरै बिग्रन्छ भनेर मैले सोचेको थिइनँ।’

पुनेमा आश्चर्यजनक रूपमा शून्य र १३ रनमा आउट भएका कोहलीले पुनः लामो इनिङ खेल्न सकेनन्। कोहलीले रिभ्यु लिए पनि असफल भए। उनले मैदान छाड्दा रंगशाला शान्त बनेको थियो।

‘उनी विश्वकै उत्कृष्ट ब्याट्सम्यानमध्येका एक हुन्। आज उनको विकेट लिनु अविश्वसनीय थियो। तर हामी लामो शंृखला खेल्दै छौं र आशा गरौं उनले पुनरागमन गर्नेछन्।’

त्यसअघि तीव्र गतिका बलर मिचेल स्टार्कले ओपनर अभिनव मुकुन्दलाई शून्यमा पवेलियनको बाटो देखाएका थिए। पहिलो सेसनमा स्टार्क र जस हाज्लेउडले भारतीय ब्याट्सम्यानलाई दबाबमा राखेका थिए।

३० र ६१ रनको स्थितिमा राहुल क्याच हुनबाट बचेका थिए। तर तेस्रो पटक उनी बच्न सकेनन्। ९ चौका प्रहार गरेका राहुल लियोनको बलमा रेनशोबाट क्याच भएका थिए। राहुलले चेतेश्वर पूजारा (१७)सँग दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए। त्यस्तै अजिन्क्या राहने (१७) सँग चौथो विकेटका लागि ३० र करुण नायर (२६) सँग पाँचौं विकेटका ३० रनको साझेदारी गरेका थिए।

‘मैले भनेजस्तै पिच बिग्रन थाल्यो, जसले ब्याटिङ गर्न समस्या भयो,’ शीर्ष वरीयताका स्पिनर आश्विनको बचाउ गर्दै राहुलले भने— 'दोस्रो दिन आश्विनले अस्ट्रेलियाको चाँडो विकेट लिन सक्छन्। हामीलाई थाहा छ आश्विन विश्वकै उत्कृष्ट बलर हुन्। उनले लय समातेपछि हामी खेलमा फर्कन्छौं।’

प्रकाशित: २२ फाल्गुन २०७३ ०३:५१ आइतबार

लियोनको विकेटले भारत थच्चियो