खेल

भारतमाथि जित्नैपर्ने दबाब

बेंगलोर- पुनेमा सम्पन्न पहिलो टेस्टमा अस्टे्रलियासँग फराकिलो हार बेहोरेपछि भारत दबाबमा परेको स्टिभ स्मिथको भनाइलाई भारतीय कप्तान विराट कोहलीले खण्डन गरेका छन्। कोहलीले त्यसलाई ‘माइन्ड गेम’ को संज्ञा दिदै दोस्रो टेस्टमा त्यही प्रदर्शन नदोहोरिने बताए। स्मिथको अस्ट्रेलियाले चार खेलको शृंखलामा उत्कृष्ट सुरुआत गरेको थियो। भ्रमणकारी अस्ट्रेलियाले शीर्ष वरीयताको भारतलाई तेस्रो दिनमै ३ सय ३३ रनले हराउदै शृंखलामा १–० को अग्रता लिएको छ। त्यसैले शृंखलामा जितको सम्भावना जीवित राख्न भारतलाई बेंगलोरमा हुने दोस्रो टेस्ट जित्नैपर्ने दबाब छ।

स्मिथले अस्टे्रलियन मिडियालाई दोस्रो टेस्टका लागि भारत दबाबमा रहेको बताएका थिए। तर, कोहलीले विपक्षीले के भन्यो भन्दा पनि आफ्नो प्रदर्शनमा ध्यान दिने बताए।

‘म कुनै दबाबमा छैन। हाँसिरहेको छु र खुसी छु। स्मिथले के भन्छन् त्यो उनको धारणा हो,’ बेंगलोरको चिन्नास्वामी रंगशालामा शनिबार हुने दोस्रो टेस्टअघि कोहलीले भने, ‘अस्ट्रेलियाका खेलाडीले के भने वा उनीहरूको तयारी कस्तो रह्यो भन्दा पनि हाम्रो क्षमतामा ध्यान केन्द्रित गर्ने समय हो। यो उनीहरूको माइन्ड गेम हो। दुई वर्षदेखि हामीले जस्तो क्रिकेट खेल्दै आएका छौं त्यही प्रदर्शन गर्ने हो। हेरौं, चौथो टेस्ट सकिँदासम्म नतिजा कसको पक्षमा जान्छ।’

दोस्रो वरीयताको अस्ट्रेलियाले स्पिनरको प्रयोग गर्दै भारतलाई पहिलो इनिङमा १ सय ५ र दोस्रोमा १ सय ७ रनमा समेटेको थियो। कोहलीले भारतीय समर्थकमाझ उक्त नजिता फेरि नदोहोरिने प्रतिबद्धता व्यक्त गरे।

‘सबैले सोचेका छन् कि हामीलाई शृंखलामा पुनरागमन गुर्न ठूलो चुनौती छ,’ पहिलो इनिङमा डकआउट भएका कोहलीले भने, ‘म यो वाचा गर्छु कि आगामी खेलमा त्यो प्रदर्शन दोहोरिने छैन।’

म्याच रेफ्रीले पुनेको विकेट खराब भएको प्रतिवेदन पेस गरेपछि आलोचना अझ चुलिएको थियो। तर कोहलीले बेङ्लोरको पिचले भारतलाई साथ दिने आशा व्यक्त गरे।

‘टेस्ट क्रिकेटमा हामीले यहाँ राम्रो नतिजा निकाल्दै आएका छौं,’ कोहलीले भने, ‘यहाँ भएको पछिल्लो टेस्टमा पनि हामी विजयी भएका थियौं। यहाँ अस्ट्रेलियाविरुद्धको पछिल्लो टेस्ट पनि हामीले जितेका थियौं। पक्कै पनि उक्त तथ्यले हामीलाई राम्रो गर्न साथ दिनेछ।’

अस्ट्रेलियन कप्तान स्मिथले शृंखलामा २–० ले अग्रता लिन पहिलो इनिङको योगफल महŒवपूर्ण हुने बताए। ‘यहाँको पिच हेर्दा पहिलो इनिङमा ठूलो योगफल बनाउन कठिन छ। त्यसैले हामी लामो समय ब्याटिङ गर्दै ठूलो साझेदारी गर्छाैं,’ स्मिथले भने, ‘पछिल्लो समय पनि हामीले २ सय ५० को राम्रो स्कोर बनाएका थियौं। अब पनि पहिलो इनिङमा यस्तै योगफल बनाउनु आवश्यक छ। शृंखला जोगाउनका लागि हामीलाई अझ अर्को खेल जित्नु आवश्यक छ।’

कप्तान स्टिभ स्मिथले शनिबारबाट बेंगलोरमा सुरु हुने भारतविरुद्धको दोस्रो टेस्टमा पहिलो टेस्टमा उतारेकै टोली उतार्ने बताएका छन्।

पहिलो टेस्टको दोस्रो इनिङमा शतक प्रहार गरेका स्मिथले शनिबारबाट एम चिन्नास्वामी रंगशालामा सुरु हुने खेलमा सोही टोलीलाई मैदान उतार्दा आफूलाई केही अप्ठेरो नलाग्नेे बताए।

‘गत हप्ता गरेको प्रदर्शनका आधारमा उही टोली उतार्नेछौं। टोलीमा दुई तीव्र गतिका बलर, अलराउन्डर जो तीव्र गतिमा बलिङ पनि गर्न सक्छन् र क्षमतावान् दुई स्पिनर छन्, त्यसैले टोलीमा राम्रो समिश्रण छ,’ स्मिथले भने।

तर भ्रमणकारी टोलीले बैंगलोरमा भने भिन्न खाले ट्रयाक हुने विश्वास लिएको छ।

यता भारतीय कप्तान विराट कोहलीले भने दोस्रो टेस्टमा मैदान उत्रने भारतीय टोलीका बारेमा बताउन अस्वीकार गरेका छन्।

‘जहाँसम्म टोलीमा तालमेलको कुरा छ, धेरै विकल्पहरू छन् र कसलाई सुरुआती ११ मा उतार्नेबारे शुक्रबार रातिसम्ममा निर्णय लिन्छौं,’ कोहलीले भने, ‘तर भोलि बिहानका लागि धेरै सम्भावनाहरू बाँकी छ, सम्भवतः केही परिवर्तन पनि हुन सक्छ।’

प्रकाशित: २१ फाल्गुन २०७३ ०५:०२ शनिबार

भारतमाथि जित्नैपर्ने दबाब