खेल

नेपालको दोस्रो विजय

काठमाडौं- राष्ट्रिय टोलीका सम्भावित नयाँ अनुहार सुनील धमलाको अर्धशतकप्रेरित नेपालले भारत भ्रमणमा दोस्रो विजय हासिल गरेको छ। बिहीबार भएको तेस्रो अभ्यास खेलमा नेपालले नोएडा वन्डर्सलाई ४० ले पराजित गरेको हो।

सुनीलले १ सय २८ बलमा ६ चौकासहित ७४ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो। २ सय ४९ रनको लक्ष्य पछ्याएको नोएडाले ४७.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन मात्र बनाउन सक्यो।

सुनीलले ओपनिङमा आसिफ शेखको साथ पाएका थिए। दुईले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे। ३२ बलमा ३ चौकासहित २२ रन बनाएका आसिफ विकास मिश्रको बलमा बोल्ड भए। त्यसपछि ब्याटिङमा आएका शरद् भेषावकर पनि २२ रनमै हर्षित सेठीको बलमा उत्कर्षको हातबाट क्याच भए। शरद् र सुनीलले दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे। त्यसपछि आरिफ शेखसँग तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेका सुनील विकासको बलमा बब्बी यादवबाट क्याच भए। आसिफले २ चौकासहित २८ रन जोड्दा विनोद भण्डारी ४१ रनमा अविजित रहे। ३२ बलको सामना गरेका विनोदले ३ चौका र २ छक्का प्रहार गरे।

विनोदले राजेश पुलामीसँग पाँचौं विकेटका लागि ५७ रनको साझेदारी गरे। राजेशले २३ बलमा १ चौका र २ छक्कासहित ३० रन जोडे। दीपेन्द्रसिंह ऐरी ३ रनमा अविजित रहे। पहिलो खेलमा शतक तथा दोस्रो खेलमा ९५ रन जोडेका कप्तान ज्ञानेन्द्र मल्ल ब्याटिङमा आएनन्। नियमित कप्तान पारस खड्का पेटको शल्यक्रियापछि आराममा रहेकाले भारतमा ज्ञानेन्द्रले कप्तानको जिम्मेवारी सम्हालेका छन्।

नोएडाका विकासले २ विकेट लिए। शिवम शर्मा, शुभम शाही र हर्षितको नाममा १/१ विकेट रह्यो।

नोएडाका लागि प्रियम जर्जले सबैभन्दा धेरै ४४ रन बनाए। निरन्तर विकेट गुमाएपछि प्रियम र राहुल चोपराले नोएडाको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। दुईले चौथो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए। तर, स्पिनर सन्दीप लामिछानेले यी दुईको साझेदारी तोडेपछि नोएडा सम्हालिन सकेन। राहुलले १ चौकासहित २२ रन बनाएका थिए।

त्यसअघि ओनपर आयुस जैनले २० र मोहित कल्याणले ११ रन बनाए। दुबैलाई सोमपाल कामीले पवेलियनको बाटो देखाएका थिए। शिवमले ३८ रन जोड्दा हर्षितले २० रन जोडे। बब्बी २६ रनमा अविजित रहे।

नेपालका सोमपालले ३ विकेट लिँदा शक्ति गौचन र सन्दीपले समान २/२ विकेट लिए। करण केसी र वसन्त रेग्मीको नाममा १/१ विकेट रह्यो।

शुक्रबार स्वदेश फर्किने नेपाली टोली राजवाडा क्रिकेट टिमसँगको पहिलो खेलमा ४७ रनले पराजित भएको थियो।  दोस्रो खेलमा भने सोही टोलीसँग ८३ रनको विजय हासिल गरेको थियो। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा फागुन २८ र ३० गते केन्याविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

त्यसका लागि नेपाली टोलीले स्वदेश फर्किएलगत्तै १४ खेलाडी र ४ वैकल्पिक खेलाडीको नाम सार्वजनिक गर्नेछ।

प्रकाशित: २० फाल्गुन २०७३ ०४:१३ शुक्रबार

नेपालको दोस्रो विजय