स्ट्राइकर आफिज ओलाओलेको दुई गोलप्रेरित साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले सोमबार एफसी खुमलटारमाथि ३–० को सहज जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा गर्ने लक्ष्य कायम राखेको छ।
प्रमुख खेलाडीको चोट र केही खेलाडीको पलायनले थलिएको मच्छिन्द्रले पहिलो चरणको सुरुआत खराब गरे पनि दोस्रो चरणमा भने राम्रो प्रदर्शन गरिरहेको छ। मच्छिन्द्रले पछिल्लो खेलमा थ्री स्टार क्लबलाई १–० ले हराएको थियो।
मच्छिन्द्र १८ खेलको समाप्तिमा ३० अंकसहित तेस्रोे स्थानमा छ। जुन शीर्ष स्थानको जावलाखेल युथ क्लबभन्दा मात्र एक अंक कम हो। जावलाखेलले एक खेल बढी खेलेको छ। दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेडको ३०, चौथो स्थानको सातदोबाटो युथ क्लबको २६ र पाँचौं स्थानको थ्री स्टारको २५ अंक छ।
एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न खेलको ४२औं मिनेटमा ओलाओलेले गरेको गोलमा मच्छिन्द्रले अग्रता लिएको थियो। ७७औं मिनेटमा आन्द्रेस नियाले मच्छिन्द्रको अग्रता दोब्बर पारेका थिए। ८३औं मिनेटमा ओलाओलेले गोल गर्दै अच्छिन्द्रको सहज जित पक्का गरेका थिए।
खुमलटारको भने लगातारको खराब प्रदर्शनले रेलिगेसन दबाब बढेको छ। खुमलटार यसै सिजन मात्र ‘ए’डिभिजनमा बढुवा भएको थियो। पहिलो चरणको सुरुआतमा औसत प्रदर्शन गरे पनि पछिल्ला खेलहरूमा भने खुमलटारले जितको स्वाद चाख्न पाएको छैन। पछिल्लो खेलमा न्युरोड टिम एनआरटी २–० को अग्रता लिए पनि सम्हालिन नसक्दा खुमलटार २–२ को बराबरीमा रोकिएको थियो।
खुमलटार १८ खेलमा १७ अंकसहित १४औं स्थानमा छ। खुमलटारले १८ मध्ये २ खेल जितेको छ भने २ खेल बराबरी खेलेको छ। यस क्रममा खुमलटारले ११ खेल हारिसकेको छ। १३औं स्थानको नेपाल पुलिस क्लबको १९ र १२औं स्थानको फ्रेन्ड्स क्लबको २० अंक छ। पुलिसले फ्रेन्ड्स र खुमलटारभन्दा एक खेल कम खेलेको छ।
सोमबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पा क्लब संकटा क्लबसँग १–१ को बराबरीमा रोकियो। खेलको ५०औं मिनेटमा म्यानुअल नानाको गोलमा हिमालयन शेर्पाले अग्रता लिएको थियो। ७४औं मिनेटमा कप्तान आयुष घलानले गोल गर्दा संकटा खेलमा फर्किएको थियो।
नवौं स्थानको हिमालयन शेर्पाको १८ खेलमा २२ अंक छ भने ११औं स्थानको संकटाको समान खेलमा २१ अंक छ।
प्रकाशित: २ जेष्ठ २०८० ०१:२५ मंगलबार