खेल

‘विराटको विकेट महत्वपूर्ण’

नयाँ दिल्ली(एएफपी)– अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले भारतविरुद्धको शृंखला भर्खरै सुरु भएको र चुनौती अझै बाँकी रहेको बताएका छन्।

उनले भारतीय कप्तान विराट कोहलीलाई पुनेमा सम्पन्न पहिलो टेस्टको पहिलो इनिङमा डकआउट गरेका थिए।

 स्पिनर ओ’किफले समग्रमा १२ विकेट लिएको खेलमा स्टार्कले  कोहली र चेतेश्वर पूजारालाई पवेलियनको बाटो देखाएपछि भारतको विकेट पतन सुरु भएको थियो।

अस्ट्रेलियाले घरेलु टोलीलाई पहिलो इनिङमा १ सय ५ र दोस्रो इनिङमा १ सय ७ रनमा अलआउट गरेपछि ३ सय ३३ रनको सानदार जित हात पार्दै चार टेस्टको शृंखलामा १–० को अग्रता लिएको थियो । यता भारतको भने १९ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको थियो ।

पहिलो इनिङमा डकआउट भएका कोहलीले दोस्रो इनिङमा पनि मात्र १३ रन जोड्न सके ।

‘कोहलीको विकेट शृंखलाका बाँकी अन्य खेलमा समेत महत्वपूर्ण हुनेछ । शृंखलामा बलियो पकड प्रस्तुत गर्न हामीले उनलाई अझै ६ पटक आउट गर्नुपर्छ,’ स्टार्कले भने, ‘हामीलाई उनले उत्कृष्ट पुनरागमन गर्दै बलियो चुनौती पेस गर्छन् भन्ने थाहा छ ।’

इन्डियन प्रिमियर लिग आइपिएलमा कोहली र स्टार्क टिम सहयात्री हुन् । दुवै जना रोयल च्यालेन्जर्स बेंगलोरबाट खेल्छन् र कोहली लयमा फर्केपछि कस्तो खेल प्रदर्शन गर्छन्, उनलाई राम्ररी थाहा छ ।

‘उनी राम्रा खेलाडी हुन् भन्ने हामी सबैलाई थाहा छ । उनले यस वर्ष पनि धेरै रन जोडिसके । हामी कोहलीले गर्ने पुनरागमनबारे चिन्तित छांै,’ विगत जुनयता चार पटक दोहोरो शतक पूरा गरेका कोहलीका बारे स्टार्कले भने, ‘उनलाई पहिलो टेस्टमा सस्तोमा पवेलियन फर्काउन पाउँदा हामी धेरै खुसी छौं, तर हामीलाई थाहा छ एक खेल जित्दैमा शृंखला जितिँदैन । अझै तीन महत्वपूर्ण टेस्ट खेल्न बाँकी छ। ’ दोस्रो टेस्ट मार्च चारबाट बेंगलोरमा सुरु हुनेछ।

 

 

 

 

 

 

 

प्रकाशित: १८ फाल्गुन २०७३ ०३:१९ बुधबार

विराटको विकेट