खेल

राजवाडामाथि नेपालको जित

काठमाडौं– कप्तान ज्ञानेन्द्र मल्लको शतकबाट ५ रनले चुकेको दिन नेपालले ८३ रनको विजय हासिल गरेको छ। तयारी खेलका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो खेलमा मंगलबार नयाँदिल्लीको राजवाडा क्रिकेट टिमलाई हराएको हो।

पहिलो खेलमा शतक पूरा गरेका ज्ञानेन्द्रले १ सय १५ बलमा ८ चौका र १ छक्कासहित ९५ रन बनाए। ज्ञानेन्द्रलाई राष्ट्रिय क्रिकेट टोलीमा सम्भावित नयाँ अनुहारका रूपमा हेरिएका सुनील धमलाले ४४ रन बनाएर साथ दिएका थिए । यी दुईले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४७ रन बनायो।

नियमित कप्तान पारस खड्का शल्यक्रियापछि आराममा रहेकाले ज्ञानेन्द्रले कप्तानको जिम्मेवारी सम्हालेका छन् । शरद भेषावकर ७ रनमा पवेलियन फर्किंदा सागर पुनले १७ रन बनाए । राष्ट्रिय टोलीमा पुनरागमनका लागि संघर्ष गरिरहेका मेहबुब आलमले २२ बलमा २ चौका र २ छक्कासहित ३० रनको योगदान गरे । विनोद भण्डारी शून्य रनमा पवेलियन फर्किंदा युवा खेलाडी आरिफ शेख २४ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरीले २ रन जोड्दा वसन्त रेग्मी १२ रनमा अविजित रहे ।

राजवाडाका सुशील खत्री र मधुर खत्रीले समान २÷२ विकेट लिए भने नरेश राना र अशोक सिंहको नाममा १/१ विकेट रह्यो ।

नोएडास्थित गौतमबुद्ध विश्वविद्यलयको मैदानमा २ सय ४८ रनको लक्ष्य पछ्याएको राजवाडाले ३७.३ ओभरमा सबै विकेट गुमाएर १ सय ६४ रन मात्र जोड्न सक्यो । राजवाडाका लागि मधुरले सबैभन्दा धेरै ४२ रन बनाउँदा अशोक सिंहले ३३ रन जोडे । दुवैलाई सागर पुनले एलबिडब्लु आउट गरेका थिए । मोहम्मद शफिलेले २३ तथा ओपनर कपिल यादवले २१ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका सोमपाल कामी, सन्दीप लामिछाने र सागरले २÷२ विकेट लिए । अविनाश कर्ण र करण केसीको नाममा १÷१ विकेट रह्यो ।

राजवाडाविरुद्ध आइतबार भएको पहिलो अभ्यास खेलमा नेपाल ४७ रनले पराजित भएको थियो । भारतमा नेपालले अब १ अभ्यास खेल खेल्नेछ । शुक्रबार स्वदेश फर्किएपछि नेपाल १९ जनाबाट १४ खेलाडी र ४ वैकल्पिक खेलाडीको नाम सार्वजनिक गर्नेछ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा फागुन २८ र ३० गते केन्याविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

 

प्रकाशित: १८ फाल्गुन २०७३ ०३:०७ बुधबार

राजवाडामाथि नेपालको जित