खेल

सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति

क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन भएको छ।

मेलम्चीमा शनिबार सम्पन्न भेलाले विजयकुमार धितालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ। नवगठित अन्य पदाधिकारीमा उपाध्यक्ष राजन धिताल, सचिव अजयकुमार धिताल, कोषाध्यक्ष राजु सापकोटा, सदस्यमा विजेश श्रेष्ठ, प्रकाश सापकोटा, रुद्रशरण श्रेष्ठ, दिलीप लामा, सागर खड्का, सन्तोष चौलागाई र अनिलकुमार धिताल रहेका छन्।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पछिल्लो समय क्रिकेटले पाइरहेको सफलताले देशले गर्व गर्ने वातावरण बनेको बताए। क्रिकेट खेललाई प्रोत्साहन गर्न आगामी दिनमा उपयुक्त मैदान निर्माण गरेर प्रतियोगिता आयोजना गर्न तथा क्रिकेट खेलको विकासका लागि सहकार्य गर्ने उनले बताए।

यस्तै क्रिकेट खेललाई सिन्धुपाल्चोकमा स्थापित गर्न सुरुआतदेखि नै सहयोग गर्दै आएका पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले नवगठित तदर्थ समितिलाई बधाई दिंदै क्रिकेट खेलको विकाससँगै खेल मैदान निर्माणमा आवश्यक पहल र सहकार्य गर्न तत्पर रहेको बताए।

उनले सिन्धुपाल्चोक क्रिकेट संघले जिल्लामा क्रिकेट खेललाई स्थापित गरेर देशले गर्व गर्ने खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे। साथै क्रिकेट खेलको विकासका लागि निरन्तर सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे।

नवगठित तदर्थ समितिका अध्यक्ष  धितालले सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठनपछि क्रिकेट खेललाई आधिकारिक रूपमा जिल्लामा स्थापित गर्न गोरेटो बाटो निर्माणको सुरुआत भएको बताए। नेपाली क्रिकेट जगतले एकपछि अर्को सफलता हात पार्दै जाँदा यसको लोकप्रियता पनि बढ्दो छ। पछिल्लो समय क्रिकेटलाई बुझेर माया गर्ने दर्शकको साथ पनि उल्लेख्य वृद्धि भएको छ।

प्रकाशित: ३१ वैशाख २०८० ०३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App