खेल

भारतबाहिर विश्वकप खेलाउन पाकिस्तानको माग

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का प्रमुख नजाम सेठीले आफ्नो चिर प्रतिद्वन्द्वी भारतले सेप्टेम्बरका लागि तय एसिया कपमा सहभागी हुन अस्वीकार गरेमा एकदिवसीय विश्वकप पनि भारतभन्दा बाहिर खेलाउनुपर्नेे माग गरेका छन्।

अक्टोबरमा विश्वकप आयोजना हुने भए पनि अहिलेसम्म प्रतियोगिताको तालिका र खेलस्थलको बारेमा भारतीय क्रिकेट बोर्ड (बिसीसीआई)ले केही बताएका छैन। भारत–पाकिस्तानबीचको चिसो सम्बन्धका कारण विश्वकप र एसिया कपको आयोजना स्थलबारे अन्योल जारी छ। दुवै राष्ट्रका क्रिकेट बोर्डले एकअर्काविरुद्ध आरोप–प्रत्यारोप लगाइरहेका छन्। भारतले पाकिस्तानबाहिर एसिया कपको आयोजना भए खेल्न तयार रहेको र पाकिस्तानमै आयोजना हुने भए प्रतियोगिता बाहिष्कार गर्ने र पाँच राष्ट्र सम्मिलित एक दिवसीय प्रतियोगिता आयोजना गर्र्ने तयारी गरेको खबर सार्वजनिक भएको थियो। भारतले बिग्रिएको कूटनीतिक सम्बन्ध र सुरक्षा चुनौतीका कारण पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेको हो। सन् २०१३ पछि यी दुई राष्ट्रले कुनेै पनि शृंखला खेलेका छैनन्। पाकिस्तानले पनि भारतमै विश्वकप आयोजना भए सहभागी नहुने र अन्यत्र भएको खण्डमा मात्र विश्वकपमा प्रतिस्पर्धा गर्ने अडान लिँदै आएको छ।

‘भारतले एीसया कपका लागि पाकिस्तान भ्रमण गर्न अस्वीकार गर्यो र तटस्थ खेलस्थलको माग गर्यो भने हामी पनि विश्वकपमा भारतको भ्रमण अस्वीकार गर्दै तटस्थ खेलस्थलको माग राख्छौं,’ सेठीले भने, ‘भारतले पाकिस्तानमा सुरक्षा चुनौती हुन्छ भन्नुको कुनेै तुक छैन। सम्भवतः बंगलादेशमा विश्वकप आयोजना गरिएमा सबैका लागि मान्य हुनेछ।’ एसिया कपमा पाकिस्तान र भारत एकै समूहमा रहेका छन्। नेपालले पनि सोही समूहमा प्रतिस्पर्धा गर्नेछ। गत साता सम्पन्न एसिसी प्रिमियर कपको विजेताका रूपमा नेपालले एसिया कपको टिकट काटेको थियो। नेपालले फाइनलमा युएईलाई ७ विकेटले हराएको थियो। अर्को समूहमा भने श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।

प्रकाशित: ३० वैशाख २०८० ०२:१६ शनिबार

भारतबाहिर विश्वकप खेलाउन पाकिस्तानको माग