खेल

मनाङ अन्तिम चारमा

चित्तगोङ- मोहमडन स्पोर्टिङ क्लबले शुक्रबार सहिन अस्मायीलाई २–० ले पराजित गरेपछि मनाङ मर्स्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह चरणको अन्तिम खेलमा आयोजक चित्तागोङ अवाहनी लिमिटेडसँग २–२ को बराबरी खेलेपछि मनाङले सेमिफाइनलका लागि मोहमडन र अस्मायीबीचको नातिजा कुर्नुपरेको थियो। समूह ‘बी’मा ५ अंक जोडेको आयोजक चित्तगोङ विजेता बन्दा ४ अंक जोडेको मनाङले उप विजेताको हैसियतमा सेमिफाइनलमा स्थान बनायो। मनाङ र मोहमडनको समान ४ अंक भए पनि हेड टु हेडमा माथि रहेका कारण मनाङ अन्तिम चारमा पुगेको हो। समूहको पहिलो खेलमा मनाङले मोहमडनलाई २–० ले पराजित गरेको थियो। सेमिफाइनलमा मनाङले श्रीलंकाको टिसी स्पोट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

शुक्रबार मनाङले २–० को अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको थियो। अफिज ओलावाले तेस्रो मिनेटमा गरेको गोलमा मनाङले अग्रता लिएको थियो। विराज महर्जनको लामो पासमा कप्तान अनिल गुरुङले हेडिङ गरे। अनिलको हेड पासमा गोल लाइनमा रहेका ओलावाले हेड मार्फत गोल गरे। २३औं मिनेटमा रोहित चन्दको पासमा ओलावाले मनाङको अग्रता दोब्बर पारे।

मनाङका गोलकिपर दीनेश थापामगरले गरेको गल्तिमा नसिरउद्धिन चौधरीले गोल गर्दै चित्तगोङलाई खेलमा फर्काए। दोस्रो हाफमा अगस्टिन वाल्सनले पेनाल्टीमा बराबरी गोल गरे। मनाङका रक्षक देवेन्द्र तामाङले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि चित्तगोङले पेनाल्टी पाएको थियो।

प्रकाशित: १४ फाल्गुन २०७३ ०३:५० शनिबार

मनाङ अन्तिम चारमा