खेल

अफगानी क्लबविरुद्ध मनाङको पराजय

काठमाडौं- लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कप प्रतियोगितामा बुधबार अफगानिस्तानको सहिन अजमानसँग ३–१ ले पराजित भएको छ। दोस्रो खेलमा हारको सामना गरेपछि मनाङले सेमिफाइनल पुग्न समूह चरणको अन्तिम खेलको नतिजा पर्खनुपर्ने भएको छ।

मनाङले समूह चरणको अन्तिम खेलमा शुक्रबार घरेलु टोली चित्तागोङ अबहनी लिमिटेडसँग खेल्नेछ।

चित्तागोङस्थित मोहम्मद अजिज रंगशालामा सहिनका कप्तान अमिरुद्दिन सारिफीले ह्याटि्रक गरे। मनाङका लागि विमल बस्नेतले सान्त्वना गोल गरे।

प्रतियोगितामा मनाङले बंगलादेशको मोहमडन स्पोर्टिङ क्लब लिमिटेडलाई २–० ले हराउँदै सुखद सुरुआत गरेको थियो। तर सहिन अजमानले प्रतियोगितामा पहिलो जित हासिल गरेको हो। पहिलो खेलमा सहिन आयोजक चित्तागोङ अवाहनी लिमिटेडसँग ३–१ ले पराजित भएको थियो।

बुधबार अफगानी क्लब सहिनका लागि ३८औं मिनेटमा अमिरुद्दिनले पहिलो गोल गरेका थिए। उनको गोलबाट सहिनले पहिलो हाफमा १–० ले अग्रता लिएको थियो।

४०औं मनाङका कप्तान अनिल गुरुङको हेड बारमा लागेर फर्किएपछि मनाङको खेल बराबरी गर्ने प्रयास सफल भएन। ५७औं मिनेटमा ओलावालेको प्रहार गोलमा परिणत हुन सकेन। तर सहिनका कप्तान अमिरुद्दिनले ६५औं मिनेटमा गोल गरेर टोलीको अग्रतालाई दोब्बर पार्दै मनाङमाथि दबाब बढाएका थिए।

७३औं मिनेटमा विमलको उत्कृष्ट हेड गोलबाट मनाङले खेलमा फर्कने प्रयास गरेको थियो। सुजल श्रेष्ठको कर्नरमा विमलले गोल गरेका थिए।

७६औं मिनेटमा मनाङका रक्षक सिसिकोले पेनाल्टी बक्सभित्र ह्यान्ड गरेपछि सहिनले पेनाल्टी अवसर पाएको थियो। त्यसमा  कप्तान अमिरुद्दिन गोल गर्दै ह्याटि्रक पूरा गरे।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले कप्तान अनिल गुरुङको हेड बारमा लागेर फर्कनु खेलको टर्निङ प्वाइन्ट भएको बताए। 'अनिलको हेड गोल भएको भए खेल हाम्रो पक्षमा हुने थियो। त्यो खेलको टर्निङ प्वाइन्ट बन्यो।' प्रशिक्षक गुरुङले भने, 'टोलीले राम्रो खेल्ने प्रयास गरे पनि रक्षापंक्तिमा केही समस्या देखियो। साहिनका खेलाडीहरू शारीरिक रूपमा बलिया थिए। उनीहरूलाई हामीले रणनीतिक रूपमा रोक्न सक्नुपर्थ्याे। तर हामी सफल भएनौं।' मनाङ नेपाली फुटबलको सफल क्लब हो। राष्ट्रिय टोलीको सदस्यको बाहुल्यता छ मनाङ टोलीमा। राष्ट्रिय टोलीको समेत कप्तान रहेका अनिल, उपकप्तान विराज महर्जन, राष्ट्रिय टोलीका सदस्य रोहित चन्दसँगै विशाल राई, सुजल श्रेष्ठलगायत ८ खेलाडी मनाङबाट खेल्छन्। यसै गरी टोलीमा भएका नाइजेरियन अफिज ओलावाले ओलिडिपो पनि क्षमतावान् खेलाडी हुन्। उनले मनाङले पहिलो खेलमा जित हासिल गर्दा १ गोल गरेका थिए। अर्को गोल विशाल राईले गरेका थिए। दुवै गोलमा रक्षक रोहित चन्दले पास उपलब्ध गराएका थिए।

बुधबार जित हासिल गरेको भए मनाङ एक खेलअगावै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने थियो।

समूहको विजेता र उपविजेताले प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्नेछन्। पहिलो खेलमा हारको सामना गरेका कारण बुधबार सहिनलाई सेमिफाइनलमा पुग्न जित अनिवार्य थियो। सहिनले लक्ष्यअनुसार खेलमा सफलता हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावनालाई कायमै राख्यो।

सहिन क्लब भने ५ वर्षअघि स्थापना भएको  हो। आधादशकको अनुभव भए पनि सहिनले अफगानिस्तानी फुटबलले सफलता हासिल गर्दै अगाडि बढिरहेको छ। सहिन अफगानिस्तान प्रिमियर लिग च्याम्पियन क्लब हो।  सहिनमा अफगानिस्तान राष्ट्रिय टोलीका ५ खेलाडी छन्। सहिनले बंगलादेशको प्रतियोगितालाई एएफसी कपको तयारीको रूपमा लिएको छ। सहिनले एएफसी कपको दोस्रो चरणको प्रतियोगिताका लागि तयारी गरिरहेको छ।

घरेलु प्रतियोगितामा प्राप्त गरेको सफलतापछि मनाङ अन्तर्राष्ट्रिय प्रतियोगितामा सुखद नतिजा निकाल्ने लक्ष्यसहित बंगलादेश पुगेको हो। मनाङले यसै वर्ष मोफसलका पछिल्ला ५ प्रतियोगितामध्ये तीनको उपाधि जितेको थियो। खप्तड गोल्डकप, आहा रारा गोल्डकप र झापा गोल्डकप मनाङले जितेका मुख्य उपाधि हुन्।

प्रकाशित: १२ फाल्गुन २०७३ ०४:०८ बिहीबार

अफगानी क्लबविरुद्ध मनाङको पराजय