खेल

मनाङको विजयी सुरुआत

काठमाडौं- लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबले शेख कमल अन्तर्राष्ट्रिय क्लब कप प्रतियोगितामा विजयी सुरुआत गरेको छ। मनाङले आइतबार बंगलादेशको मोहमडन स्पोर्टिङ क्लब लिमिटेडलाई २–० ले हरायो।

चित्तागोङस्थित मोहम्मद अजिज रंगशालामा नेपाली क्लब मनाङका लागि विशाल राई र नाइजेरियन खेलाडी ओलावाले ओलाडिपो अफिजले गोल गरे। उनी म्यान अफ दि म्याचबाट पुरस्कृत भए। उनले ५ सय अमेरिकी डलर पुरस्कार पनि पाए।

जितपछि समूह 'बी' मा रहेको मनाङले तीन अंक जोडेको छ। समूहमा मनाङसँगै चित्तागोङ अबहानी लिमिटेड र सहिन अजमाइ फुटबल क्लब रहेका छन्। समूहको विजेता र उपविजेताले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउनेछन्।

मनाङले घरेलु प्रतियोगितामा पछिल्लो समय उत्कृष्ट नतिजा निकाल्दै आएको छ। मनाङले यसै वर्ष मोफसलका पछिल्ला ५ प्रतियोगितामध्ये तीनको उपाधि जितेको थियो।

खप्तड गोल्डकप, आहा रारा गोल्डकप र झापा गोल्डकप च्याम्पियन बनेको मनाङ उत्साहका साथ बंगलादेश उडेको थियो। मनाङ राष्ट्रिय खेलाडीको बाहुल्य भएको टोली हो। अनिलसँगै राष्ट्रिय टोलीको पहिलो रोजाइका रक्षक रोहित चन्द, विराज महर्जन, सुजल श्रेष्ठ, विक्रम लामा, विशाल राईलगायत ८ खेलाडी छन्।

नेपालमा पछिल्ला तीन प्रतियोगिताको उपाधि जितेको मनाङले अन्तर्राष्ट्रिय प्रतियोगितामा सुखद सुरुआत गर्‍यो। सफलता हासिल गरेपछि मनाङ प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले सुरुमा टोलीको समन्वय नमिल्दा अप्ठ्यारो भएको बताए। 'पहिलो हाफमा समन्वय मिलाउन गाह्रो भएको थियो। तर त्यसलाई दोस्रो हाफमा हामीले सुधार गर्‍यौँ। घरेलु मैदानमा घरेलु टिमसँग खेल्दा पहिलो हाफमा केही असहज भयो। तर, दोस्रो हाफमा आपसमा तालमेल मिलाएर खेल्दा जित निकाल्न सहज भयो,' प्रशिक्षक छिरिङले भने, 'पहिलो हाफको तुलनामा दोस्रो हाफमा विपक्षी टिमको डिफेन्स कमजोर भएकाले जित हात पार्न सहज भयो।'

अनिल गुरुङको नेतृत्वमा खेलेको मनाङलाई घरेलु टोलीले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो। पहिलो हाफमा मनाङका तीन उत्कृष्ट प्रयास असफल भए।

३२औं मिनेटमा मनाङका साम्सोनको प्रहार पोलमा लागेर फर्किएको थियो। ३४औं मिनेटमा ओलावालेको क्रस पासमा कप्तान अनिल गुरुङले गोल गर्न सकेनन्। अनिलपछि रोहित चन्दले गोल गर्ने प्रयास गरे। तर उनी पनि असफल भए। ४३औं मिनेटमा रोहितले गरेको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो। लगत्तै मोहमडन स्पोर्टिङका दावा सिसेले गरेको प्रहारलाई मनाङका गोलरक्षक दिनेश थापामगरले रोक्न सफल भए।

खेलमा प्रभाव जमाउँदै गएको मनाङले इन्जुरी समयमा पनि गोल गर्ने प्रयास गरेको थियो। इन्जुरी समयमा सुजल श्रेष्ठले गरेको प्रहार पनि खेर गयो।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको मनाङले ५३औं मिनेटमा अग्रता लियो। नाइजेरियन ओलावालेले गोल गर्दै मनाङलाई अग्रता दिलाए।

मध्य भागबाट रोहित चन्दले दिएको लामो पासमा ओलावालेले गोल गरेका थिए। विपक्षी टोलीका गोलकिपर अगाडि बढेको मौकालाई सदुपयोग गर्दै ओलावाले गोल गर्न सफल भए। आइतबार खेलमा मनाङले गरेको दुवै गोलमा राष्ट्रिय टोलीको पहिलो रोजाइका रक्षक रोहितले पास उपलब्ध गराएका थिए।

८७औं मिनेटमा विशाल राईले रोहितको सहयोगमा गोल गरे।

राष्ट्रिय टोलीको समेत कप्तान रहेका अनिलले जितपछि सेमिफाइनलमा पुग्ने सम्भावना बढेको बताए। उनले भने, 'हामी करिब–करिब सेमिफाइन प्रवेश गरिसकेका छौं। हामीले आइतबार अन्य टोलीको पनि खेल हेर्‍यौं। उनीहरूको कमजोर र बलियो पक्षका बारेमा अध्ययन गरेका छौं।'

मोहमडन स्पोर्टिङका प्रशिक्षक अब्दुल कयुम सन्टुले दोस्रो हाफमा डिफेन्स लाइन कमजोर भएका कारण खेल हार्नुपरेको बताए। मनाङले दोस्रो हाफमा उत्कृष्ट खेल खेलेको उनको भनाइ थियो। नेपालले समूह चरणको दोस्रो खेलमा बुधबार अफगानिस्तानको सहिन अजमाइसँग प्रतिस्पर्धा गर्नेछ।  समूहको अन्तिम खेलमा शुक्रबार मनाङले आयोजक चित्तगोङ अबहनी लिमिटेडसँग भिड्नेछ।

प्रकाशित: ९ फाल्गुन २०७३ ०४:३६ सोमबार

मनाङको सुरुआत