खेल

टाइब्रेकरबाट रूपन्देही सेमिफाइनलमा

धरान- खेलको अन्त्यतिर कालु थापाको गोलले पुनरागमन गरेको रूपन्देही ११ धरानमा जारी १९आँै बूढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। १–० ले पछि परेको अवस्थामा खेल बराबरी गर्दै रूपन्देहीले सफलता हासिल गरेको हो। 

धरान १७ स्थित एन्फा टेक्निकल सेन्टर मैदानमा शनिबार रूपन्देहीले काँकडभिट्टा टे्रनिङ सेन्टरलाई टाइब्रेकरमा ३–१ ले हरायो।

रूपन्देही यसै साता सकिएको उदयपुर गोल्डकप विजेता टोली हो। निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

६१औं मिनेटमा काँकडभिट्टाका गिल्सन लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, खेल सकिन मात्र ४ मिनेट बाँकी रहँदा कालु थापाले बराबरी गोल गर्दै रूपन्देहीलाई खेलमा फर्काए।

टाइब्रेकरमा रूपन्देहीका निरज बस्नेत, सौरभ मगर र उत्तम गुरुङले गोल गरे। काँकडभिट्टाका पूजन उपरकोटीले मात्रै गोल गर्न सके। काँकडभिट्टाका सुविन मैनालीको प्रहार बाहिरियो भने एन्जल गुरुङको प्रहार पोलमा ठोक्एिर फर्किएको थियो। दिलेन लिम्बुको प्रहारलाई रूपन्देहीका गोलकिपर दिलीप क्षत्रीले बँचाए।

खेलको म्यान अफ दि म्याच घोषित हुँदै क्षत्रीले नगद ५ हजार पुरस्कार पाए। खेलको अन्तिम समयमा सम्हालिन नसक्दा पराजित हुनुपरेको काँकडभिट्टाका प्रशिक्षक दीपक कार्कीले बताए। रूपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले भने जित हात पारे पनि खेलाडीहरूले सोचेअनुसार खेल्न नसकेको प्रतिक्रिया दिए। उदयपुर गोल्डकप खेलेपछि विश्राम लिन नपाई खेलाडीहरू खेल्न आएकाले अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेको सापकोटाले बताए। आइतबार आयोजक धरान नीलो र पोखरा ११ ले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ८ फाल्गुन २०७३ ०४:०४ आइतबार

टाइब्रेकरबाट रूपन्देही सेमिफाइनलमा