खेल

पुलिसमाथि फेरि रेलिगेसन दबाब

सहिद स्मारक ‘ए’डिभिजन लिगमा खराब सुरुआत गरेको नेपाल पुलिस क्लबले लिगको मध्यतिर भने विदेशी खेलाडीको आगमनमा सुखद नतिजासहित रेलिगेसन क्षेत्रबाट माथि उठ्ने संकेत गरेको थियो।

तर पछिल्ला दुई खेलको नतिजाले पुलिसमाथि फेरि रेलिगेसनको दबाब बढेको छ। दोस्रो चरणको पहिलो खेलमा शीर्ष स्थानका जावलाखेल युथ क्लबलाई स्तब्ध पारेको पुलिस दोस्रो खेलमा हिमालयन शेर्पासँग पराजित भएको थियो।  

तेस्रो खेलमा सोमबार एन्फा मुख्यालयमा पुलिस क्लब चिर प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबसँग २–२ को बराबरीमा रोकिएको छ।  

१६औं मिनेटमा अहमद हिजाजीको गोलमा पुलिसले अग्रता लिएको थियो। तर पहिलो हाफमै दुई गोल बेहोरेपछि भने पुलिस दबाबमा परेको थियो। ३३औं मिनेटमा रोशन रानामगरको गोलमा मनाङ खेलमा फर्किएको थियो। ४४औं मिनेटमा साइल अजमलले मनाङलाई २–१ को अग्रता दिलाएका थिए।

७१औं मिनेटमा हिजाजीले गरेको गोलमा पुलिस खेलमा फर्किएको थियो। पुलिस क्लब १६ खेलमा १६ अंकसहित १४औं स्थानमा छ भने मनाङ भने समान खेलमा २० अंकसहित सातौं स्थानमा छ। पुलिसका प्रशिक्षक चेतन घिमिरेले जित्नै पर्ने दबाबमा पनि मनाङसँग अंक बाँड्दा टोलीमाथि रेलिगेसन दबाब बढेको बताए।  

‘आज हामीले राम्रो सुरुआत गरेका थियाैं। अग्रता बनाएसँगै मनाङलाई दबाबमा राखेका थियौं,’घिमिरेले भने, ‘तर खेलाडीले लय गुमाउँदा हामीले दुई गोल खान पुग्याै। त्यसपछि पनि हामीले धेरै गोलको अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेनाैं।’ घिमिरेले टोलीमा विदेशी खेलाडी ल्याउन केही ढिलाइ भएको र त्यसले टोलीको प्रदर्शनमा असर गरेको समेत बताए।

‘हामीले लिगको सुरुआतबाटै विदेशी खेलाडी ल्याएर खेलाएको भए आज सायद हामी राम्रो पोजिसनमा हुने थियौँ,’घिमिरेले थपे, ‘टोलीमा ल्याएका विदेशी खेलाडीबीच तालमेल अझै मिलेको छैन। जसले गर्दा सोचेअनुरूपको नतिजा आइरहेको छैन। हामीमाथि रेलिगेसनको दबाब त छ तर अझै १० खेल बाँकी रहेकाले टोलीले राम्रो स्थानमा बस्दै सिजनको सुखद अन्त्य गर्नेमा म विश्वस्त छु।’

यता मनाङ भने दोस्रो चरणको तीन खेलसम्म अपराजित छ। मनाङका प्रशिक्षक विष्णु गुरुङले टोली पछिल्लो समय लयमा फर्कन प्रयासरत रहेकाले पुलिसविरुद्ध जोडेको एक अंक पनि महत्वपूर्ण रहेको बताए।  

‘हामीले अग्रता जोगाउन नसक्दा आज पुलिससँग अंक बाँड्नुपरेको छ,’गुरुङले भने, ‘तर हामीले अंक गुमाएनौं त्यो नै ठूलो उपलब्धि हो। लिगको प्रत्येक खेलमा सुधारिएको प्रदर्शनको लक्ष्य लिएका छौं। यही स्थानमा बसेर सिजनको अन्त्य गर्न पर्छ भन्ने दबाब हामीमाथि छैन।’  

लिगअन्तर्गत सोमबारै च्यासल फुटबल मैदानमा सम्पन्न खेलमा फ्रेन्ड्स क्लब एफसी खुमलटारमाथि ३–१ को जितसहित रेलिगेसन क्षेत्रबाट माथि उठेको छ। फ्रेन्ड्स १६ खेलमा १९ अंकसहित नवौं स्थानमा छ भने खुमलटार समान खेलमा १७ अंकसहित १३औं स्थानमा छ। फ्रेन्ड्सको सहज जितमा राफिक अमिनुले २ र सन्तोष खत्रीले १ गोल गरेका थिए। खुमलटारका लागि मेसुकेले सान्त्वना १ गोल गरे।

प्रकाशित: २६ वैशाख २०८० ०१:५५ मंगलबार

पुलिसमाथि फेरि रेलिगेसन दबाब सहिद स्मारक ‘ए’डिभिजन लिग खराब सुरुआत