खेल

सुशीलको निर्णायक गोल

धरान- सुशील केसीले निर्णायक गोल गरेपछि सिएमजी क्लब संकटाले १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबलमा विजयी सुरुआत गरेको छ। खेल २–२ ले बराबरी भएको बेला ७२औं मिनेटमा सुशीलले राज पौडेलको सहयोगमा गोल गर्दै संकटालाई जित दिलाए।

 मार्टिन अजय, अनिल गुरुङ र सुशीलको गोलमा संकटाले भारतको दुर्गापुर स्टिल कलकत्तालाई ३–२ ले हरायो।

पहिलो जितसँगै संकटा प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। भारतीय टोली दुर्गापुरका आका र सलुयदिन मिर्धाले गोल गरे। नेपाली फुटबलको ए डिभिजन क्लब संकटा पछिल्लो समय उत्कृष्ट लयमा छ। संकटाले सिजनमा नारायणगढको विकास रनिङ सिल्ड र आठौं सिमरा गोल्डकपको उपाधि जितेको थियो। जारी प्रतियोगितामा संकटाले फागुन ९ गते एपिएफसँग प्रतिस्पर्धा गर्नेछ।

उद्घाटन खेलमा मार्टिनको गोलबाट संकटाले दुई मिनेटमा अग्रता लिएको थियो। विश्व अधिकारीको पासमा मार्टिनले गोल गरेका थिए। तर दुर्गापुर स्टिलका आकाले २४औं मिनेटमा हेडमार्फत गोल गरेपछि खेल बराबर भएको थियो। आकाले सुशान्त हेम्ब्रोनको क्रसमा गोल गरेका थिए। आकाको प्रहारलाई संकटाका ओलालेकनले हेडमार्फत रोक्ने प्रयास गरेका थिए।

३६औं मिनेटमा मार्टिनको पासमा अनिल गुरुङले गोल गरेपछि संकटाले पुनः अग्रता लियो। यसपछि पनि दुर्गापुरले हार स्वीकार गरेन। ५२औं मिनेटमा सलयदुन मिर्धाले गोल गरेर खेल २–२ को बराबरीमा पुर्‍याएका थिए।

रिबाउन्डमा मिर्धाको प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले रोक्न सकेनन्। राष्ट्रिय टोलीको जर्सी लगाइसकेका सुशील केसीले ७२औं मिनेटमा गोल गदैं संकटालाई पुनः अग्रता दिलाएका थिए।

प्रतिस्पर्धात्मक खेलमा संकटाले थुप्रै अवसर गुमाउँँदा फराकिलो अन्तरमा जितको नतिजा निकाल्न सकेन। पहिलो हाफको ३५औं मिनेटमा मार्टिनको प्रहारलाई दुर्गापुरका उदित क्षत्रीले  असफल पारिदिए।

 ४०औं मिनेटमा प्याटि्रक जोनको पासमा मार्टिनको हेडलाई दुर्गापुरका गोलकिपर सुबन्धु घोषले पन्च गरेर जोगाए। वान भर्सेस वानमा मार्टिनको प्रहार सुबन्धुसँग ठोकिएर बाहिरिएको थियो। दुर्गापुरका अफ्रिकन खेलाडी स्टेन्लीले सुरु गरेको प्रहारलाई  संकटाका गोलकिपर विनयले पन्च गरेर जोगाए। बिहीबार दुर्गापुरका गोलकिपर सुबन्धु म्यान अफ दि म्याच घोष घोषित भए। उनले नगद ५ हजार पाए।

दुर्गापुरका प्रशिक्षक अमिस रावले फरवार्डको कमजोरीले हार्नुपरेको बताए। स्वास्थ्यका कारण नाइजेरियन खेलाडीले राम्रो खेल्न नसकेको उनको भनाइ थियो। संकटाका प्रशिक्षक सल्यान खड्गीले विपक्षी राम्रो भए पनि जित पाउँदा खेलमा सन्तुष्टि व्यक्त गरे। मौका सदुपयोग गर्न नसक्दा अझै धेरै स्कोर गुमेको उनले बताए।

प्रतियोगितामा शुक्रबार आयोजक धरान फुटबल क्लबको धरान पहंेलो र नेपाल पुलिस क्लबले खेल्नेछन्।

कांग्रेस नेता एवं सांसद मीन विश्वकर्माले उद्घाटन गरेको प्रतियोगितामा १० टिम सहभागी छन्। फागुन १४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार हात पार्नेछन्। उत्कृष्ट खेलाडीले एक थान यामाहा मोटरसाइकल र सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउने आयोजकले बतायो। प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट प्रशिक्षकले जनही १५ हजार पाउनेछन्।

प्रकाशित: ६ फाल्गुन २०७३ ०५:२० शुक्रबार

सुशीलको निर्णायक गोल