काठमाडौं- एक साताअघि नेपाल आइटिएफ जुनियर यु १८ सर्किट १ लन टेनिस प्रतियोगिताको उपाधि जितेका मृत्युञ्जय बादोला र वैदेही चौधरीले बिहीबार सर्किट २ मा पनि सेमिफाइनलको यात्रा पक्का गरेका छन्। पुरुष एकलमा भारतका मृत्युञ्जयले आफ्नै देशका पीयूष सुरेन्द्र सालेकरलाई ३–१ को सेटमा हराउँदै अन्तिम ४ मा स्थान पक्का गरेका हुन्। मृत्युञ्जयले पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गरेका थिए। पहिलो सेट ४–६ ले हारेका उनले त्यसपछि ६–२, ६–० को सेटमा विजयी नतिजा निकालेका हुन्।
बिहीबारै पुरुष एकलमा भारतका तीर्थ शशांकले पोल्यान्डका माइकल बोज्नियाकलाई २–० ले हराउँदा चीनका पेन्ज्यु लु र भारतका आर्यन जभेरीले पनि आआफ्नो खेल जिते। तीर्थले ६–३, ७–५ को सेटमा हराएका हुन्। चीनका लीले भारतका अथर्व शर्मालाई ६–२, ६–१ ले हराउँदा आर्यनले आफ्नै देशका कबिर मनराईविरुद्ध ६–४, १–६, ६–३ को जित निकाले।
महिला एकलमा वैदेहीले आफ्नै देशकी भक्ति शाहमाथि ६–४, ६–४ को विजय हासिल गरिन्। भारतकै शिवानीस्वरूप इङ्लेले चीनकी जिङ याङलाई ७–६(४), ६–३ को सेटमा हराइन्। चीनकी युजिवो चीले थाइल्यान्डकी पुन्नी कोभपितुकतेडलाई ७–६(६), ६–३ को सेटमा पराजित गर्दा चीनकै मिङक्यु याङले आफ्नै देशकी ना दोङलाई ६–३, १–६, ६–२ को सेटमा हराइन्।
वैदेहीले महिला युगलमा पनि विजय हासिल गरिन्। वैदेही र शिवानीस्वरूपको जोडीले चीनकी ली र याङको जोडीलाई ६–३, ६–२ ले हराउँदै फाइनलन पक्का गरे। वैदेहीको जोडीले अब उपाधिका लागि चीनकी ची र जिङयी वाङको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। चीको जोडीले कोभपितुकतेड र जापानकी मियो कोजाकीको जोडीलाई ६–४, ०–६ (१०–७) को सेटमा हराउँदै फाइलन पक्का गरेको थियो।
पुरुष युगलको फाइनलमा भने भारतका आदित्य लायर र पीयूषको जोडीले आफ्नै देशका गुञ्जन यादव र अथर्वको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
प्रकाशित: ६ फाल्गुन २०७३ ०४:५४ शुक्रबार