खेल

हिमालयन ट्रायथोलनको उपाधि पिटर र तारालाई

निकै कठिन मानिने हिमालयन एक्स्ट्राई वल्र्ड टुर एक्सट्रिम ट्रायथोलनको उपाधि पुरुषतर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेकले जितेका छन्। महिलातर्फको उपाधि अमेरिकाकी तारा मिरान्डा पार्सोन्सले जितेकी छन्।  

अन्तर्राष्ट्रिय ट्रायथोलनको हब पोखरामा शनिबार र आइतबार हिमालयन एक्सट्रिम ट्रायथोलन प्रतिस्पर्धा भएको थियो। शनिबार बिहान फेवातालमा पौडीबाट सुरुआत भएको ट्रायथोलन आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित काँडेमा समापन भएको थियो। फेवातालमा ३ दशमलव ८ किलोमिटर पौडी प्रतिस्पर्धा गरिएको थियो।  

पौडीपछि सहभागीले १ सय ७५ किलोमिटर साइक्लिङ गरे। साइक्लिङपछि ४३ किलोमिटर दौड पूरा गरेका थिए। पौडी—साइक्लिङ—दौडलाई चेक रिपब्लिकका पिटरले १६ घण्टा ५१ मिनेट १९ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन्। पुरुषतर्फ नै इटालीका जिओभानी बोर्टोलासोले निर्धारित दूरी १७ घण्टा ५८ मिनेट आठ सेकेन्डमा पार गरी दोस्रो हँुदा रसियाका इलिया बब्लिकले निर्धारित दूरी पूरा गर्न १८ घण्टा ३४ मिनेट १२ सेकेन्ड समय लगाउँदै तेस्रो भएका थिए। महिलातर्फको उपाधि विजेता मिरान्डाले निर्धारित दूरी पार गर्न १८ घण्टा २० मिनेट ५४ सेकेन्ड समय लगाउँदै च्याम्पियन बनिन्। फ्रान्सकी बेनेडिक्ट पेरोनले १९ घण्टा ४९ मिनेट १९ सेकेन्डमा ट्रायथोलन पूरा गर्दै दोस्रो बन्दा चेक रिपब्लिककी भेरोनिका मर्चेन्टले २४ घण्टा २८ मिनेट २५ सेकेन्ड समय लगाउँदै तेस्रो स्थानमा रहिन्।  

प्रतियोगितामा २२ देशका ३६ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक हिमालयन एक्सट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जानकारी दिए। उनका अनुसार २७ जनाले दौड पूरा गरेका थिए। सहभागी पाँच महिलामध्ये ३ जनाले दौड पूरा गरे। प्रतियोगीहरूले फेवातालमा पौडीको प्रतिस्पर्धा सम्पन्न गरेपछि १ सय ७५ किमी साइकल दौड सुरु गरेका थिए। पोखराको लेकसाइडबाट सुरु भएको साइक्लिङ सराङकोट, लुम्ले, नयाँपुल, कुस्मा हुँदै बागलुङ पुगेर त्यहाँबाट पुनः फर्किएर कुस्मा, नयाँपुल हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेमा आएर समापन भएको थियो। साइक्लिङपछि ४३ किमी लामो दौड सुरु भएको थियो। काँडेबाट सुरु भएको दौड अस्ट्रेलियन क्याम्प, देउराली, हाइ—क्याम्प, लोक्याम्प, मर्दी हिमाल भ्यु पोइन्ट (४३०० मिटर) छोएर सोही बाटो हुँदै फर्किएर माछापुच्छ«े गाउँपालिकाको ल्वाङमा आएर टुंगिएको योन्जनले बताए।  

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ, गण्डकी प्रदेशका पूर्वसांसद दीपक कोइरालालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए। सदस्यसचिव घिसिङले यस्ता प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदको हब बनाउन सहयोगी भूमिका खेल्ने स्पष्ट पारे। नेपाल ट्रायथलन संघका अध्यक्ष श्रेष्ठले यो प्रतियोगिताले नेपालसँगै पोखरालाई सहासिक खेलकुदका लागि गन्तव्य बनाउन महत्वपूर्ण टेवा पुर्याउने दाबी गरे। 

प्रकाशित: २५ वैशाख २०८० ०१:२३ सोमबार

हिमालयन ट्रायथोलनको उपाधि पिटर र तारालाई हिमालयन एक्स्ट्राई वल्र्ड टुर एक्सट्रिम ट्रायथोलन