खेल

नेपालगन्ज गोल्डकप यसै महिना

नेपालगन्ज- दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता यही फागुनको अन्तिममा हुने भएको छ। बाँके जिल्ला फुटबल संघको आयोजना तथा टुबोर्ग बियरको मुख्य प्रायोजनमा प्रतियोगिता फागुन २६ गतेदेखि हुने मंगलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

आयोजकले पत्रकार सम्मेलनमा प्रतियोगिताको करिब ६० प्रतिशत तयारी पूरा भइसकेको जानकारी दियो। आयोजक संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताको दोस्रो संस्करणलाई थप व्यवस्थित ढंगले गर्ने तयारी भइरहेको बताए। प्रतियोगितामा कुल ८  टोली सहभागी हुने आयोजकले जनाएको छ। अध्यक्ष शाहीका अनुसार प्रतियोगितामा आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संकटा, मनाङ मर्स्याङ्दी क्लब, सुदूर पश्चिम र नेपालगन्ज तथा भारतीय टिम दिल्ली युनाइटेडले सहभागिता जनाउनेछन्। प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५१ हजार प्राप्त गर्ने आयोजक पक्षले पत्रकार सम्मेलनमा जानकारी दियो।

अघिल्लो वर्ष प्रतियोगिताको विजेजालाई १ लाख ५१ हजार रुपैयाँ पुुरस्कारको व्यवस्था गरिएको थियो। दोस्रो नेपालगन्ज गोल्डकपमा खेलाडी, रेफ्री र अफिसियलका लागि दुर्घटना बिमासमेत गरिएको अध्यक्ष शाहीले जानकारी दिए। ‘एनएलजी इन्स्योरेन्सले खेलाडी, रेफ्री र अफिसियलका लागि दुर्घटना बिमाको व्यवस्था गरेको छ,' उनले भने। प्रतियोगितामा हरेक दिन हुने म्यान अफ द म्याचलाई अघिल्लो वर्षझैँ आकर्षक मोबाइल सेट प्रदान गरिने र यस पटक म्यान अफ द सिरिजलाई पनि ठूलो पुरस्कार दिने तयारी गरिएको अध्यक्ष शाहीले जानकारी दिए।

पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ(एन्फा) का केन्द्रीय सदस्य प्रदेशसिंह राठौरले खेलकुद क्षेत्रको प्रवर्द्धनमा नेपालगन्ज गोल्डकपले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। प्रतियोगिता गर्न  क्षेत्रका कर्पोरेट तथा उद्योगी, व्यवसायीले सामाजिक उत्तरदायित्व निर्वाह गर्न नसकेको भन्दै उनले दुःख व्यक्त गरे। ‘ठूलो कसरत गरेर प्रथम नेपालगन्ज गोल्डकप सम्पन्न गर्न सफल भयौं, यसतर्फ यहाँका कर्पोरेट र उद्योगी व्यवसायीले खासै आफ्नो उत्तरदायित्व सम्भि्कनु भएन,' उनले भने ‘यस पटक पनि ठूलो कसरत गरिरहेका छौं।'

प्रकाशित: ४ फाल्गुन २०७३ ०४:२९ बुधबार

नेपालगन्ज गोल्डकप यसै