खेल

बंगलादेशविरुद्ध भारतको सहज विजय

हैदराबाद- स्पिनर रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाप्रेरित भारतले बंगलादेशविरुद्धको एक मात्र टेस्टमा सोमबार २ सय ८ रनको सहज जित हात पार्दै शृंखला जितेको छ। यस जितपछि आगामी महिना घरेलु मैदानमा अस्ट्रेलियाको सामना गर्ने तयारीमा रहेको भारतको मनोबलसमेत बढेको छ।

भारतीय भूमिमा पहिलो पटक टेस्ट खेलिरहेको भ्रमणकारी टोलीले अन्तिम दिन जितका लागि ४ सय ५९ रनको लक्ष्य पछ्याएको थियो। तर तल्लो क्रमका ब्याट्सम्यान चल्न नसक्दा २ सय ५० रनमा टोली खुम्चिन बाध्य भएको थियो।

दोस्रो इनिङमा आश्विन र जडेजाले एकआपसमा ८ विकेट बाँडेपछि भारतले टेस्ट क्रिकेटमा आफ्नो अपराजित यात्रा १९ खेलसम्म कायम गरेको हो।

पहिलो इनिङमा २ सय ४ रन जोड्दै म्यान अफ दी म्याच भएका भारतीय कप्तान विराट कोहलीले बंगलादेशले गरेको प्रदर्शनको प्रशंसा गरे पनि उनको भनाइ भने आगामी अस्ट्रेलियासँगको खेलतर्फ सोझिएको थियो।

‘सबैको ध्यान टेस्ट शंृखलामा छ र हामी पहिलो टेस्ट सुरु गर्न आतुर छौं,’ कोहलीले भने, ‘सबै आतुर छन्, हाम्रो लागि यो शंृखला धेरै महत्वपूर्ण छ।’

आइसिसी विश्व वरीयतामा दोस्रो स्थानमा रहेको अस्ट्रेलिया सोमबारै भारतविरुद्धको चार टेस्ट शंृखलाका लागि मुम्बई आइसकेको छ।

 ब्याटिङ वरीयतामा अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथभन्दा पछि रहेका कोहलीले गत जुलाइपछि ४ पटक दोहोरो शतक पूरा गरिसकेका छन् र उनी अस्ट्रेलियाविरुद्धको शृंखलामा पनि उच्च मनोबलका साथ मैदानमा उत्रनेछन्।

भ्रमणकारी टोलीले १०३/३ बाट अन्तिम दिनको खेल सुरु गरेको थियो।

महम्मदुल्लाहले १ सय ४९ बलमा ७ चौकाको मद्दतमा ६४ तथा स्पिनर मेहदी हसनले ६१ बलमा ४ चौकाको मद्दतमा २३ रन जोड्दै शीर्ष टेस्ट टोलीविरुद्ध इनिङ उकास्ने कोसिस गरेका थिए।

तर करियरको ४५औं टेस्ट म्याच खेल्दै आइतबार सबैभन्दा छिटो २ सय ५० विकेट लिने खेलाडी बनेका आश्विनले ७३ रन खर्चंदै ४ विकेट लिएपछि भ्रमणकारी टोली सस्तोमा समेटिएको हो।

उनले तस्किन अहमदलाई एलबीडब्लुको सिकार बनाएका थिए तर अम्पायरले अहमदलाई नटआउट दिएका थिए। भारतले रिभ्यु लिएपछि अम्पायरले गरेको निर्णय उल्टिएको थियो।

आश्विनले पहिलो इनिङमा शतक प्रहार गरेका बंगलादेशी कप्तान तथा विकेटकिपर मुस्पि्ककर रहिमलाई २३ रनमा जडेजाको हातबाट क्याच गराएका थिए भने जडेजाले शाकिब अल हसनलाई २२ रनमा पवेलियनको बाटो देखाएका थिए।

महम्मदुल्लाहले रहिम र सबिर रहमानसँग साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए।

भ्रमणकारी टोलीलाई पहिलो इनिङमा ३ सय ८८ रनमा अलआउट गर्र्दै २ सय ९९ रनको अग्रता बनाए पनि भारतले फलोअन भने लगाएको थिएन।

यसअघि भारतले पहिलो इनिङमा ६८७–७ र   दोस्रो इनिङमा १४९/४ मा इनिङ समाप्तिको घोषणा गरेको थियो।

भारत र अस्ट्रेलियाबीचको पहिलो टेस्ट फेबु्रअरी २३ बाट पुनेमा सुरु हुनेछ।

प्रकाशित: ३ फाल्गुन २०७३ ०३:४६ मंगलबार

बंगलादेशविरुद्ध भारतको सहज विजय