खेल

रंगशालाबारे एन्फाको ज्ञापनपत्र

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि आवश्यक रकम र रंगशाला निर्माणका लागि ध्यानाकर्षण गराउँदै सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ।

सोलिडारिटी कप विजेता खेलाडीको सम्मानमा सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए। एन्फाले बुझाएको ज्ञापन पत्रमा रंगशाला अभावमा फुटबल गतिविधि सञ्चालनमा असर पर्नुका साथै अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना तथा सहभागितामा कमी अएकाले खेलस्तरमा समेत असर परेको उल्लेख छ।

प्रतिकूल अवस्थामा पनि बंगबन्धु गोल्ड कप, दक्षिण एसियाली खुलकुद (साग) र सोलिडारिटी कप जितेको भन्दै एन्फाले एएफसी एसियन कप छनोटको तयारी तथा सहभागिताका लागि २ करोड रुपैयाँ सरकारबाट सहयोग माग गरेको छ।

‘लिगका लागि समेत मैदानको अभाव भएको अवस्थामा एन्फाले राखेपमा दशरथ रंगशाला मर्मत र निर्माण गर्न अनुरोध गरिरहे पनि काम ज्यादै सुस्त रूपमा भइरहेको हुँदा प्रधानमन्त्रीबाट विशेष पहल गरी अझ चाँडै काम सम्पन्न गराउन हामी अनुरोध गर्दछौ,’ एन्फाको ज्ञापनपत्रमा उल्लेख छ, ‘एसियन कप छनोटमा सहभागिता जनाउनुका साथै आयोजना गर्न करिब दुई करोड रुपैयाँ खर्च लाग्ने भएकोे नेपाल सरकारबाट आर्थिक सहयोगका निम्ति निर्देशन प्रदान भए टिम तयारी गर्न सहयोग पुग्नेछ।'

प्रकाशित: ३ फाल्गुन २०७३ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App