खेल

क्लब लाइसेन्स लागु गरिने

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमूख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले नेपालमा एएफसी क्लब लाइसेन्स प्रणाली लागु गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। सन् २०१७ मा हुने राष्ट्रिय लिगअघि लाइसेन्स प्रणाली लागु भइसक्ने तुलाधरले नागरिकलाई जानकारी गराए।

क्लब लाइसेन्स लागु गर्ने विषयमा शनिबार एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधिको उपस्थितीमा एन्फाले 'ए' डिभिजन क्लबसँग अन्तरक्रिया गरेको थियो।

क्लब लाइसेन्स लागु गर्न एएफसीले विभिन्न १८ सर्त अनिवार्य गरेको छ। नेपालका 'ए' डिभिजन क्लबले सबै सर्त पूरा गर्न सक्ने बताएपछि प्रक्रिया अन्तिम चरणमा पुगेको तुलाधरले बताए। एएफसीको सर्तमा क्लबको आफ्नै मैदान, एकेडेमी, मिडिया अफिसर, मार्केटिङ अफिसर हुनुपर्ने लगायत छन्।

'हामी खुसी छौं। क्लब लाइसेन्स प्रणाली लागु गर्ने काम अन्तिम चरणमा पुगेको छ। त्यसका लागि सबै क्लबलाई हामी धन्यावाद दिन चाहन्छौं। केही कुरामा क्लबले अप्ठयारो हुने धारणा राखेका थिए। एन्फा र एएफसीले त्यसमा सहयोग गर्ने प्रतिवद्धता जनाएपछि सहमति भयो,' उनले भने।

क्लबले युवा फुटबल विकास लगायतका सर्तमा एन्फा र एएफसीले सहयोग गर्नु पर्ने माग राखेको तुलाधरले बताए। क्लब लाइसेन्स प्रणाली लागु गर्ने विषयमा छलफल गर्न एएफसी क्लब लाइसेन्स विभागका प्रमूख महाजन भासुदिवान नायर नेपाल आएका थिए। नायरले एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपालका 'ए' डिभिजन क्लब र एन्फा पदाधिकारीसँग यस विषयमा अन्तरक्रिया गरेका थिए।

प्रकाशित: २ फाल्गुन २०७३ ०३:३३ सोमबार

क्लब लाइसेन्स लागु गरिने