खेल

अन्तरकलेज फुटसल हुँदै

एसवाई बजार कम्पनीले जेठ अन्तिम साता अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। जेठ २८ र २९ गते हुने प्रतियोगिता ललितपुरको राष्ट्रिय खेलकुद केन्द्रमा हुनेछ।

विद्यार्थीहरूले आफ्नो पढाइसँगसँगै खेलकुदमा सहभागिता बढाउँदा आफ्नो लक्ष्यमा पुग्न मद्दत गर्ने भएकाले फुटसल प्रतियोगिता आयोजना गर्न लागेको एसवाई बजारका निर्देशक विमलराज गोसाईले बताए। प्रतियोगितामा निजी तथा सरकारी विद्यालयमा अध्ययनरत कलेज पढ्ने विद्यार्थीहरू सहभागी हुन सक्ने जनाइएको छ।

प्रतियोगितामा ३२ भन्दा बढी कलेजका विद्यार्थीको टोलीको उपस्थिति रहने अपेक्षा राखिएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीले जेठ ११ गतेभित्र दर्ता गरिसक्नु पर्नेछ। प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले ३५ हजार रूपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने गोसाईले बताए।

प्रकाशित: २१ वैशाख २०८० ०४:४२ बिहीबार

अन्तरकलेज फुटसल एसवाई बजार कम्पनी