खेल

बंगलादेशविरुद्ध कीर्तिमानको ओहिरो

हैदराबाद- उच्च लयमा रहेका कप्तान विराट कोहलीले अर्को दोहोरो शतक पूरा गर्दा शुक्रबार भारतले बंगलादेशविरुद्ध हैदराबादमा जारी टेस्टको दोस्रो दिन कीर्तिमानी योगफल खडा गरेको छ। लगातार ४ शृंखलामा दोहोरो शतक पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका कोहलीले २ सय ४ रन बनाए। भारतले ६ सय ८७ रनमा इनिङ समाप्तीको घोषणा गर्दा ३ ब्याट्सम्यानले शतक पूरा गरे।

यससँगै भारत लगातार तीन खेलमा ६ सय भन्दा माथिको स्कोर बनाउँने पहिलो राष्ट्र बनेको छ। भारतले यसअघि इङ्ल्यान्डविरुद्ध मुम्बईमा ६ सय ३१ र चेन्नईमा ७५९–५ को स्कोर बनाएको थियो।

जवाफी ब्याटिङ गरेको बंगलादेशले दोस्रो दिन सकिँदा ४१ रन बनाएको छ। यसक्रममा टोलीले ओपनर सौम्य सरकारलाई गुमाइसकेको छ। ३१ बलमा ३ चौका सहित १५ रन बनाउँदा सरकार अन्तिम ओभर बलिङ गरेका उमेश यादवको बलमा ऋदिमन शाहबाट क्याच भएका थिए। तमिम इकबाल २४ र मोमिनुल हक १ रन बनाएर क्रिजमा छन्।

उप्पल रंगशालामा भारतलाई उच्च स्कोरतर्फ डोर्‍याउन कोहलीको प्रदर्शन महत्वपूर्ण रह्यो। उनको साथमा अन्य ब्याट्सम्यानले पनि राम्रो प्रदर्शन गरे। २ सय ४६ बल सामना गरेका कोहलीले २४ चौका प्रहार गरेका थिए। यससँगै उनले महान हस्ती डोनाल्ड ब्राडम्यान र राहुल द्रविडको कीर्तिमान तोडेका छन्। दुवै हस्तीले लागातार ३ शृंखलामा दोहोरो शतक पूरा गरेका थिए। कोहलीले यसअघि वेस्ट इन्डिज, न्युजिल्यान्ड र इङ्ल्यान्डविरुद्ध दोहोरो शतक पूरा गरेका थिए।

२८ वर्षे कप्तान कोहलीलाई तैजुल इस्लामले एलबिडब्लू धरापमा पारेका थिए। तैजुलले ३ विकेट आफ्नो नामा लेखाए। भारतका मध्यक्रमका ब्याट्सम्यानले पनि राम्रो प्रदर्शन गरे।  १ सय ६ रनमा अविजित रहेका ऋदिमन शाहले सातौं विकेटका लागि रविन्द्र जडेजासँग १ सय १८ रनको अविजित साझेदारी गरे। जडेजा ६० रनमा अविजित रहे। करियरकै दोस्रो टेस्ट शतक पूरा गर्ने क्रममा ऋदिमनले ७ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै पाँचौ अर्धशतक पूरा गर्ने क्रममा जडेजाले ७८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि कोहलीले अजिन्क्या राहनलेसँग चौथो विकेटका लागि २ सय २२ रनको साझेदारी गरेपछि भारत बंगलादेशविरुद्ध कीर्तिमानी स्कोरतर्फ लम्किएको थियो। राहनेले ११ चौका सहित ८२ रन बनाए। उनी तैजुलको बलमा मेहन्दी हसन मिराजबाट क्याच भएका थिए। भारतले बंगलादेशविरुद्ध यसअघि बनाएको सबैभन्दा ठूलो स्कोर ६ सय १० रन हो। जुन २००७ मा ढाकामा बनेको थियो।

३५६–३ को स्थितीबाट भारतले दोस्रो दिनको शुरूआत गरेको थियो। कोहलीले १ सय ११ र रहानेले ४५ रनको स्थितीबाट दोस्रो दिन खेल्न सुरु गरेका थिए। भारतका रविचन्द्र आश्विनले ३४ रन बनाए। ४ चौका प्रहार गरेका आश्विन मेहन्दी हसनको बलमा सरकारबाट समातिएका थिए।

प्रकाशित: २९ माघ २०७३ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App