खेल

‘भारत र पाकिस्तानसँग खेल्न पाउनु ठूलो अवसर’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भारत र पाकिस्तानसँग खेल्न पाउनु आफूहरूका लागि ठूलो अवसर भएको बताएका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको छ। जहाँ समूहचरणमा नेपालले भारत र पाकिस्तानको सामना गर्नेछ।  

‘हामीले भारत र पाकिस्तानले खेलेको हेरे पनि उनीहरूसँग खेल्ने सपना मात्र थियो, जुन अब पूरा हुने संघारमा छ,’रोहितले भने, ‘भारत र पाकिस्तानसँग खेल्न पाउनु नै हाम्रा लागि ठूलो अवसर हो। हामी एसोसिएट क्रिकेटमा मात्र सीमित थियौं। अब हामी त्यहाँभन्दा माथि उठ्ने चरणमा छौं। अब हामीले विश्वमा नेपाली खेलाडीको क्षमता देखाउने समय अवसर पाएका छांै। हामी सबैका लागि यो विशेष अवसर हो। हामीले राम्रो प्रदर्शन गरेको खण्डमा विश्वका अन्य फ्रेन्चाइज लिगमा पनि नेपाली खेलाडीले अवसर पाउने सम्भावना उच्च रहेको छ।’

रोहितले वर्षाको समयमा पनि पूर्ण समय मैदानमा बसेर आफ्नो हौसला बढाएको भन्दै दर्शकप्रति कृतज्ञ रहेको बताए। ‘हाम्रा लागि घरेलु समर्थकको उपस्थितिले सधैं विशेष ऊर्जा दिने गरेको छ। हिजो वर्षाका कारण खेल रोकिएको थियो, तर मंगलबारसम्मका लागि खेल सरेको औपचारिक घोषणा नहुँदासम्म पनि उहाँहरू मैदानमा रहनुभयो। यो नै हाम्रो लागि ठूलो हौसला हो। यो उहाँहरूले हामीप्रति देखाएको विश्वास हो।’ पाकिस्तानमा सेप्टेम्बरका लागि तय एसिया कप पाकिस्तान र भारतबीचको खराब सम्बन्धका कारण हुने नहुने अन्योल चलिरहँदा रोहितले खेल रोक्न नहुने बताए।

‘हामी धेरै मिहिनेत गरेर यो स्थानमा पुगेका छाैं,’उनले भने, ‘जुन देशले आयोजना गरे पनि प्रतियोगिता होओस्। खेल भए हाम्रा लागि त्यो नै राम्रो हुनेछ।’त्यस्तै प्रशिक्षक मोन्टी देसाईले भारत र पाकिस्तानविरुद्ध खेल्नु नेपाली पुरुष क्रिकेट टोलीका लागि मात्र नभई समग्र खेलकुदका लागि नै ठूलो उपलब्धि भएको बताए।

‘हामीले भारत र पाकिस्तानले खेलेको हेरे पनि उनीहरूसँग खेल्ने सपना मात्र थियो, जुन अब पूरा हुने संघारमा छ।’ – कप्तान रोहित पौडेल

‘एसिया कपमा भारत, पाकिस्तान र नेपाल एउटै समूहमा, यो विशेष अवसर हो,’देसाईले भने, यो खेलाडीहरूको मिहिनेतको प्रतिफल हो। नेपाली टोलीले एसिया कप खेल्नुले के महत्व राख्छ, त्यो समर्थकहरूलाई सोध्नुपर्छ। वर्षाका कारण दुई दिनसम्म पनि फाइनल खेल खेल्नुपर्यो। पानी परिरहँदा पनि मैदानमै रहेर आफ्नो टोलीको एसिया कपको सपना साकार भएको हेर्न बसिरहनुभयो। प्रतियोगितामा १० राष्ट्र सहभागी थिए र सबैको सपना एसिया कपमा स्थान बनाउनु थियो। सबै टोलीले मिहिनेत गरेका छन्। हामीले पनि पछिल्लो तीन महिना यही लक्ष्य लिएर मिहिनेत गर्यौं। आज सुखद नतिजा ल्याएका छौं। समर्थनको साथले सधैं हौसला मिल्छ। म एक दिन त्रिभुवन विश्वविद्यालयको मैदानमा टेस्ट क्रिकेट भएको हेर्न चाहन्छु।’ 

प्रकाशित: २० वैशाख २०८० ०१:०९ बुधबार

‘भारत र पाकिस्तानसँग खेल्न पाउनु ठूलो अवसर’ कप्तान रोहित पौडेल