खेल

सेमिफाइनलमा आयोजक र विभागीयको बर्चस्व

पोखरा-पोखरामा जारी सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिबल प्रतियोगितामा बर्चस्व कायम गर्दै विभागीय टिमले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लव सेमिफाइनल पुग्दा पुरुषतर्फ पुलिस, एपिएफ र आर्मीले अन्तिम चारको यात्रा गरेका छन्।

महिलातर्फ विभागीय टोलीसँगै न्यू डायमण्ड र पश्चिमाञ्चल पनि सेमिफाइनल प्रवेश गरे । यसैगरी पुरुषमा तीन विभागीय टोलीवाहेक अन्तिम चारको यात्रा गर्ने आयोजक पश्चिमाञ्चल थियो । पुरुषतर्फ भारतको उत्तर प्रदेश भलिवल संघ मैदानमा अनुपस्थित भएपछि पश्चिमाञ्चलले वाकओभर पाएर सेमिफाइनल पुगेको थियो । प्र्राविधिक कारण देखाउँदै उत्तर प्रदेश खेल्न आएन ।

पश्चिमाञ्चलले सेमिफाइनलमा आर्मीसँग भेट पक्का गर्दा अर्को सेमिफाइनलमा एपिएफ र पुलिसले एक–अर्काको सामना गर्नेछन् ।

महिलातर्फ न्यू डायमन्न्डले उत्तर प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो । न्यू डायमन्डले २५–६, २५–६, २५–१० को सोझो सेटमा उत्तर प्रदेशलाई हराएको थियो । न्यू डायमन्डका प्रशिक्षक कुमार राइले डिफेन्स र स्पाइकमा सुधारेर खेलेकोले जित सहज भएको बताए । उनका अनुसार टिमकै भरपर्दाे खेलाडी स्पाइकर प्रतिभा मालीले अघिल्लो दिनको तुलनामा मंगलबार राम्रो प्रदर्शन गर्दा जित सहज भएको हो ।

‘हामी अली हतार गरेर खेल्न आएका थियौं । हतारको यात्राले खेलाडी निकै थकित थिए,’ उनले भने, ‘तनाबमा खेल्नुपर्दा खेलाडीले बढी दबाब अनुभव गर्छन । त्यसले परिणाममा असर पार्न सक्छ ।’ उनले भारतीय टिम उत्कृष्ट नहुँदा न्यू डायमन्डले भने जस्तो खेल देखाउन नपाएको बताए । ‘विपक्ष्ीा टिम पनि सशक्त भएमात्र स्तरीय प्रदर्शन सम्भव हुन्छ । तर पाहुना टिम राम्रो रहेनछ । जसका कारण हामीले पनि आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न सकेनौं,’ उनले भने ।

महिलातर्फको अर्काे खेलमा पश्चिमाञ्चलले आर्मीलाई ३–० को सेटमा पराजित गर्दै न्यू डायमन्डविरुद्धको सेमिफाइनल भिडन्त पक्का गरेको छ । पश्चिमाञ्चलले २५–१६, २५–१६, २५–१८ को जित हासिल गरेको थियो । पश्चिमाञ्चलकी प्रशिक्षक कौशिला खत्रीले पनि मंगलबार केही सुधारेर खेलेकोले जित निकाल्न सकेको बताइन । अघिल्लो दिन अनुभवी खेलाडी अरुणा शाही खेलेकी थिइनन । तर, मंगलबार अरुणा कोर्टमा उत्रिँदा पश्चिमाञ्चललाई सजिलो भएको थियो । खत्रीका अनुसार अरुणा र मञ्जु गुरुङको उपस्थितीले टोलीलाई वेग्लै प्रेरणा दिने गर्छ ।

‘मञ्जु र अरुणामध्ये एकजना मात्र भएनन् भने पनि टिमलाई समस्या पर्छ । अरु नयाँ खेलाडी उनीहरुजस्तो चल्न सक्दैनन,’ प्रशिक्षक खत्रीले भनिन्, ‘मञ्जु र अरुणा अनुभवि खेलाडी भएकाले जस्तोसुकै अवस्थामा पनि सम्हालिन सक्छन् । अरु नयाँ खेलाडी भएकाले अप्ठेरो पर्छ । आज मञ्जु र अरुणा दुवै भएकाले हामीलाई सजिलो भयो ।’

पुरुषतर्फको खेलमा हेल्प नेपाल स्पोर्टस क्लवले आर्मीलाई ३–२ को सेटमा पराजित गरे पनि अंक आधारमा आर्मी सेमिफाइनल प्रवेश गरेको छ । हेल्प नेपालले आर्मीलाई २२–२५, २५–१५, २५–२७, २५–१३, १५–११ को सेटमा पराजित गरेको थियो । आर्मीका प्रशिक्षक जगदीश भट्टले सेमिफाइनल यात्रा निश्चित भइसकेकोले पनि पहिलेजस्तो दबाबमा नखेलेको बताए । ‘पुरुषतर्फ हामी समुहबाट सेमिफाइनलमा पुगिसकेका थियौ । पहिलो सेटको विजय नै हाम्रा लागि काफी थियो,’ उनले भने, ‘समूह विजेता भएकोले हामीले केही कम खेलेका हौं।’

हेल्प नेपाल शारिरिक रुपमा सशक्त टिम रहेको उनले बताए। हेल्प नेपालमा एकजना भारतीय राष्ट्रिय खेलाडी भएकोले पनि टिम सशक्त रहेको उनले बताए।

पुरुषतर्पm यसअघि नै नेपाल पुलिस र एपिएफ सेमिफाइनलमा पुगिसकेका थिए । सेमिफाइनलमा बुधबार महिला तथा पुरुषतर्फ एपिएफ र नेपाल पुलिसबीच खेल हुनेछ । त्यस्तै बिहीबार महिलातर्फ न्यू डायमन्ड र पश्चिमाञ्चल तथा पुरुषतर्फ पश्चिमाञ्चल र आर्मीबीच खेल हुनेछ।

 

प्रकाशित: २६ माघ २०७३ ०२:३८ बुधबार

सेमिफाइनलमा आयोजक विभागीयको बर्चस्व