खेल

नेपाल र युएईबीचको खेल स्थगित, भोलि २७.३ ओभरबाटै सुरु हुने

एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो।

भोलि पुनः आजकै अवस्थाबाट खेल सुरु हुने छ। अर्थात्, २७ दशमलव ३ ओभरबाट खेल सुरु हुनेछ। बलिङमा ललित राजबंशी आउने छन्। भने ब्याटिङमा यूएईको तर्फबाट अन्तिम जोडी कार्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा आउनेछन्।

भोलिको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ। सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ। नेपाल ओडिआई वरियाता १४ औं र युएई १९ औं स्थानमा छन्। यसलाई आधार मान्दा नेपाल स्वतः प्रतियोगिताको च्याम्पियन बन्दै भने एसिया कपमा छनोट हुनेछ।

प्रकाशित: १८ वैशाख २०८० ०९:४८ सोमबार