खेल

रेन्जन र मायंका दोस्रो चरणमा

काठमाडौं- नेपालका रेन्जन लामाले घरेलु कोर्टमा सोमबार देखी सुरु भएको १८ वर्षमुनिको आइटिएफ जुनियर सर्किट–१ टेनिसमा विजयी सुरुआत गरेका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको पुरुष एकलमा रेन्जनले भारतका वंश भग्तानीलाई ४–६, ७–५, ७–५ ले हराए।

प्रतियोगिताको पहिलो दिन नेपालकी मायंका राणाले पनि महिला एकलमा जित हासिल गरेकी छिन्। मायांकाले भारतकी अस्पि्रत कौर वाज्वालाई ७–५, ७–५ ले पराजित गरिन्।

सोमबार रेन्जन र मायांका वाहेक अन्य नेपाली खेलाडीले जित हासिल गर्न सकेनन्। पुरुष एकलका अन्य खेलमा भारतका तीर्थ एस माचर्लाले नेपालका संरक्षकभूषण बज्राचार्यलाई ७–६(५), ६–३ ले हराए।  भारतका मृत्युञ्जय बदोलाले वेलायतका कायल स्टोकरलाई ६–३, ६–२ तथा जापानका रियु लिजुमीले नेपालका अभिनव आचार्यलाई ६–०, ६–० ले हराउँदै दोस्रो चरणमा स्थानमा बनाए।

भारतका अथर्व शर्माले अमेरिकाका अर्जुन मारियाप्पामाथी ६–७(३), ६–२,  ६–४ को जित हासिल गरे भने भारतकै विपिन वाध्वाले नेडरल्यान्ड्सका जेरियोन बोइरलाई ६–०, ६–० को नतिजामा हराए। यसैगरी भारतका कविरमान राईले हङकङका म्याथ्यु यीलाई ६–३, ६–३ ले हराउँदा चीनका पेनग्यु लुले भारतका जैशवीन सिदानालाई ६–२, ७–६ (९) को नतिजामा हराउँदै दोस्रो चरण प्रवेश गरे।

यसैगरी प्रतियोगितामा सोमबार भारतका इशान सेट्ठीले पहिलो सेट गुमाएको अवस्थामा थाइल्यान्डका माइकल माथायोम्चन्दमाथि ४–६, ६–२, ६–१ को जित निकाल्न सफल भए। भारतका गुन्जन जाधवले नेपालका संरक्षकभूषणलाई ६–०,  ६–१ ले सहजै हराए।

नेपालका विवेकशंकरले पनि सहजै चीनका यु लुन झाइसँग ६–०, ६–० को हार स्विकार गरे। भारतका प्रत्युश मोहन्टीले नेपालका साम्राज्ञ कटुवाललाई ६–१, ६–० ले पराजित गरे।

यसैगरी महिला एकलतर्फको खेलमा भारतकी वैदेही चौधरीले नेपालकी एनी माथेमालाई ६–०, ६–० को सोझो सेटमा हराइन। प्रतियोगिताको पहिलो दिन जित हासिल गर्ने अन्य खेलाडीमा थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेड र चीनकी जिङ याङ पनि थिइन। पुन्निनले चीनकी जोङयु लिलाई ६–३, ६–३ तथा जिङ याङले भारतकी गौरी भागियालाई ६–४, ६–१ को नतिजामा हराए।

भारतकी यशस्वनी पन्वारले अमेरिकाकी एन्जली मोगिलीलाई ६–१, ६–३, श्रीलंकाकी एनिका सेनेभिरात्नेले भारतकी भक्ति शाहलाई ७–५, ६–२, भारतकै जान्भी पटेलले नेपालकी माहिका राणालाई ६–२, ६–२, भारतकी शिवानी स्वरुप इङलेले नेपालकी क्याथि्रन माथेमालाई ६–१, ६–०, भारतकी किरण कलकलले नेपालकी विजिशा श्रेष्ठलाई ६–२, ६–१ ले पराजित गरे।

यसैगरी सोमबारकै अन्य खेलमा चीनकी मिङक्यु याङले भारतकी मिसा सुदलाई ६–३, ६–४, भारतकी गौरी अग्रवालले नेपालकी विभूती कार्कीलाई ६–०, ६–१ तथा भारतकी माल्भिका शुक्लाले नेपालकी स्नेहा यादवलाई ६–०, ६–० को नतिजामा हराए।

नेपाल लन टेनिस संघले आयोजना गरेको प्रतियोगितामा विभिन्न देशका ९४ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित: २५ माघ २०७३ ०४:०५ मंगलबार

रेन्जन मायंका दोस्रो चरणमा