खेल

श्रेष्ठताको लडाईँमा मनाङ र झापा

झापा- रमपम झापा गोल्डकप फुटबलको उपाधिका लागि आयोजक झापा ११ र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सोमबार आमने–सामने हुँदैछन्। केही वर्षयता नेपाली फुटबलमा बलियो उपस्थिति देखाएको घरेलु टोली झापा र स्टार खेलाडीको बाहुल्य रहेको परम्परागत महारथी मनाङबीचको निर्णायक भीडन्त 'टफ' हुने अपेक्षा सबैको छ।

प्रतियोगितामा लगातार दोस्रो पटक फाइनल पुगेको आयोजक झापा यसपटक घरेलु मैदानमा मोफसलकै सर्वाधिक पुरस्कार राशी भएको उपाधि जित्न आतुर छ। गत वर्षको पहिलो संस्करणमा झापालाई हराउँदै त्रिभुवन आर्मी क्लबले उपाधि जितेको थियो। घरेलु मैदानमा गत वर्ष उपाधि विमुख हुनुपरेको घाउ यसपटक पुर्ने आशामा झापा छ। तर, उपाधि छिनोफानोको यो होडमा झापालाई मनाङको पर्खाल छिचोल्न सजिलो भने छैन। यद्यपि दुवै टोली उपाधि आफूले जित्ने विश्वासमा छन्।

साबिक विजेता आर्मीलाई सेमिफाइनलमा हराउँदै उपाधि होडमा उभिएका कारण मात्रै होइन, यही सिजनमा खप्तड र आहा रारा गोल्डकप जितेर उपाधि ह्याटि्रक गर्ने दुर्लभ सफलता नजिक पुगेका कारण पनि  मनाङ उच्च मनोबलमा छ। साथमा अनुभवी खेलाडीहरुको लामो सूची पनि टोलीसँग छ। 'हाम्रो सबैभन्दा प्लस प्वाइन्ट भनेकै हामीसँग अनुभवी खेलाडीहरु छन्', मनाङका प्रशिक्षक छिरिङ लोप्साङले भने 'त्यसवाहेक पछिल्ला प्रतियोगिताहरुमा हाम्रो उत्कृष्ट प्रदर्शन निरन्तर छ, मनोबल उच्च छ। त्यसैले जीतप्रति आशावादी छौं।'

नयाँ मैदानमा सबै खेलाडी उत्तिकै स्तरमा प्रस्तुत हुन नसकेको विषयलाई मनाङले आफ्नो सबैभन्दा ठूलो कमजोरी ठानेको छ।

मनाङका नियमित कप्तान अनिल गुरुङ अहिलेसम्म डोमालाल रंगशालामा उत्रेका छैनन्। व्यक्तिगत कामले अनुपस्थित उनी फाइनलमा उपलब्ध हुने प्रशिक्षक लोप्साङले जनाए। सुजल श्रेष्ठ र रोहित चन्दलगायतका खेलाडी रहेको टोली जुनसुकै बेला खेल आफ्नो पक्षमा पार्ने सामर्थ्य राख्छ। फाइनलको रोचक पक्ष के छ भने केही महिना अघिसम्म झापासँगै रहेका गोलरक्षक दिनेश थापा मगर पहिलोपटक आफ्नै पूर्व क्लबविरुद्ध खेल्दैछन्।

मनाङको घरेलु प्रतिद्वन्द्वी झापा पनि उस्तै आत्मविश्वासमा छ। पछिल्लो समय उत्कृष्ट टिमवर्कको बलमा एकपछि अर्को सफलता हासिल गरिरहेको टोली त्यो लय कायमै राख्न चाहन्छ। गएको पुसमा मात्रै काँकडभिट्टा गोल्डकपको उपाधि जितेको टोली 'होम ग्राउण्ड' मा भने सफलता हात पार्न संघर्षरत छ। त्यसलाई यसपटक पूरा गर्ने कप्तान प्रवेश कटुवालको दाबी छ। 'हामी लगातार दोस्रोपटक फाइनलमा पुगेका छौं', प्रवेशले भने 'घरेलु मैदानमा सेट टिम छ। हाम्रो टिमवर्क उत्कृष्ट रहँदै आएको छ। त्यसैले जीतप्रति आशावादी छौं।'

फाइनलमा केही खेलाडी परिवर्तन हुने जानकारी दिँदै उनले थपे 'मनाङ कठिन प्रतिद्वन्द्वी हो, तर हराउनै नसक्ने गरीको होइन।' आफ्नो टिम कुनै एक जना खेलाडीको भरमा मात्रै नभएको र सबैले गोल गरिरहेका कारण पनि मनोबल उच्च रहेको उनको भनाई छ। झापासँग प्रतियोगिताकै सबैभन्दा धेरै गोल गरेका दुई खेलाडी कर्ण लिम्बु र बुद्ध चेम्जोङ छन्। त्यसवाहेक गोलकिपर  एलन न्यौपानेको उत्कृष्ट बचाउ पनि झापाले आशा गर्ने अर्को पक्ष हो। तर, अनुभवी मिडफिल्डर योगेश गुरुङको अनुपस्थितिले मध्यभागमा कमजोरी प्रशस्त रहेको र फाइनलमा त्यो सुधार्ने झापाको भनाई छ।

जारी प्रतियोगितामा दुवै टोलीको समान विशेषता विपक्षी पोस्टमा गोल वर्षा गर्नु र आफ्नामा एउटै पनि  गोल नखानु हो। त्यसैले यो खेल दुई टोलीको रक्षापंक्तिबीच श्रेष्ठताको लडाइँ पनि बन्नेछ। आफ्नो पहिलो खेलमा झापाले भारत कालिम्पोङको शेर ए क्लबलाई ५–० ले हराएको थियो। सुदूर पश्चिमलाई ४–० को नतिजामा रोक्दै सेमिफाइनल पुगेको झापाले हिमालयन शेर्पालाई पनि सोही नतिजामा हराएको थियो। बाई पाएर एक खेल कम खेलेको मनाङले भने एनआरुटीविरुद्ध ४–० को नतिजा निकालेको थियो। आर्मीसँगको सेमिफाइनल भिडन्तमा भने उसले १–० को साँघुरो जीतसहित उपाधि नजिक पुगेको हो।

अहिलेसम्म मनाङ र झापाको भेटमा मनाङको पल्ला भारी छ। राजधानीको एन्फा कपयता यी दुई टिम ६ पटक आमने–सामने भएका छन्। जसमा चार पटक मनाङले र दुई पटक झापाले जितेका छन्।  तर, दुवै टोलीका खेलाडी र प्रशिक्षक विगतको नतिजाले ठूलो फरक नपार्ने बताउँछन्। प्रतियोगिता विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: २४ माघ २०७३ ०८:३१ सोमबार

श्रेष्ठताको लडाईँमा मनाङ झापा