खेल

‘खेलकुदका लागि ध्यान’

खेलकुद आफैंमा अनुशासन हो। अनुशासनको लागि ध्यान हुनै पर्छ । त्यसैले खेलकुदमा ध्यान अनिवार्य मानिन्छ। महत्वपूर्ण ठानिन्छ।

मास्टर श्री चिनमोइका पथ प्रदर्शक तथा ३१०० माइलका धावक प्रदिप होगाकरले खेलकुदमा ध्यान महत्वपूर्ण भएको उल्लेख गरे। उनले पोखरामा आईतबार  खेलकुद र ध्यान विषयक कार्यशालामा आफनो अनुभव सुनाउँदै थपे, ‘मानवको सफल जीवनका लागि ध्यान जति आवश्यक छ। त्यती नै खेलकुदका लागि पनि, ध्यान मात्रै यस्तो चिज हो जहाँबाट जीवनको उचाई प्राप्त हुन्छ र जितसंगै खुसीयाली मिल्छ।’  

‘श्री चिनमोई ओननेस होम पिस रन’ नेपालको आयोजना, नेपाल भूतपूर्व खेलाडी मञ्चको समन्वय तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित कार्यशालामा उनले ध्यान र साधनाका कारण ३१०० माइल जस्तो कठिन दौड समयमा पुरा गर्न सकेको प्रष्ट्याए।  

डच नागरिक होगाकरले खेलकुदमा जित आफू भित्र रहेको शक्तिले मात्रै पुरा हुन सक्दैन। यसका लागि अन्र्तनिहीत क्षमता उजगार गर्न ध्यान र साधनाको भूमिका रहने स्पष्ट पारे। सृजनात्मक रचना र समग्रताका लागि समेत ध्यानको आवश्यक रहने उनको भनाई थियो।

कार्यशालामा गण्डकी विश्व विद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले खेलकुदमा ध्यान अहिलेको परिप्रेक्ष्यमा महत्वपूर्ण हुने बताए। उनले यस प्रकारको कार्यक्रमले जीवनलाई सुन्दर बनाउन र विश्वमा शान्ती स्थापनाका लागि उत्तिकै अपरिहार्य रहेको उल्लेख गरे।  

नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, ‘श्री चिनमोई ओननेस होम पिस रन’ नेपालकी संयोजक स्वेता प्रधान, मञ्चका महासचिव कृष्ण तिमिल्सिनालगायतले आफ्ना भनाई राखेका थिए।  

पोखरा महानगर पालिकाका कार्यबाहक मेयर मोतीराज तिम्सिना, पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, विभिन्न धार्मिक केन्द्रका प्रमुखहरु, प्याब्सन, हिसान, एनप्याब्सन, युनिप्स कास्की, विभिन्न विद्यालयका विद्यार्थीहरु, पूर्व खेलाडीहरु, खेलाडीहरु, प्रशिक्षकहरु लगायत विभिन्न संघ–संस्थाहरुका प्रतिनिधिहरु गरी १ सय ५० जनाको सहभागिता रहेको थियो।  

प्रकाशित: १७ वैशाख २०८० ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App