खेल

लिपजिगको मौका गुम्यो

बर्लिन(एएफपी)– पिरे इमेरिक औबामेयाङले सिजनको १७औं गोल गरेको दिन शनिबार बोरुसिया डर्टमन्डले आरबी लिपजिगलाई १–० को नतिजामा पराजित गरेको छ।

हारसँगै ४२ अंक जोडेको लिपजिजले बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखसँग अंक दुरी कम गर्ने मौका गुमाएको छ । ३५ औं मिनेटमा फ्रान्सेली विंगर ओसमाने डेम्बेलेले दुई रक्षक छलाउँदै दिएको पासमा औबामेयाङले हेड गोल गरेका थिए।

यो गोलसँगै उनी १७ गोलका साथ जर्मन बुन्डेसलिगामा उच्च गोलकर्ताको सुचीमा सबभन्दा अगाडि छन्। दोस्रो हाफमा जर्मन विंगर मार्कुस र्युसले चारवटा गोल गर्ने अवसर खेर फाल्दा लिपजिक निराश बनेको थियो।

कप्तान फिलिप लाहमले क्लबका लागि ५ सयौं खेलको कोसेढुंगा पूरा गरेको दिन कार्लो एन्सेलोट्टीको बायर्न भने घरेलु मैदानमा साल्केसँग १–१ को बराबरीमा रोकिएको छ ।

नवौं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटपछि  नाल्डोले साल्केलाई खेलमा फर्काएका थिए ।

घरेलु मैदानमा मेइन्जलाई ४–० ले पराजित गरेको होफेनहेइम ३४ अंकका साथ चौथो स्थानमा छ । हार्था बर्लिन इनग्लोस्टाडलाई १–० ले पराजित गर्दै ३३ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ । यसैगरी बोरुसिया मोन्चेनग्लाडबाचले लगातार दोस्रो जित हात पार्ने क्रममा फ्रेइबर्गमाथि ३–० को जित हात पारेको छ।

 

 

प्रकाशित: २४ माघ २०७३ ०१:४२ सोमबार

लिपजिगको मौका गुम्यो