खेल

एपिएफमाथि न्यु डायमन्डको तेस्रो प्रहार

काठमाडौं- नियमित प्रतिद्वन्द्वी एपिएफमाथि पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा ३–२ को जित हासिल गर्दै न्यु डायमन्ड स्पोर्टस एकेडेमीले बिहीबार चौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

गतवर्ष फाइनलमा भोगेको हारको बदला लिने क्रममा डायमन्ड साबिक विजेता एपिएफलाई उसकै हल्चोकस्थित कोर्टमा निराश पारेको थियो। पहिलो सेट १५–२५ ले गुमाए पनि डायमन्डले दोस्रो सेट २५–२३ र चौथो सेट २५–१६ को नतिजामा पक्षमा पार्दै उपाधि सम्भावना कायम राखेको थियो। यसबीच तेस्रो सेटमा एपिएफले २५–१६ को नतिजासहित पुनरागमनको प्रयास गरेको थियो।

पाँचौं तथा निर्णायक सेटमा भने डायमन्ड सुरुदेखि हावी भयो। एकसमय १४–८ को अग्रता लिन सफल टोली अन्तिम सेट १५–१२ ले पक्षमा पार्दै प्रतियोगितामा एपिएफको बर्चस्व समाप्त गर्न सफल भएको थियो। प्रतियोगिताका यसअघिका सबै तीन संस्करणमा एपिएफले उपाधि कव्जा गरेको थियो।

घरेलु भलिबलका अधिकांस प्रतियोगिताको फाइनलका नियमित प्रतिद्वन्द्वीबीचको तथ्यांकमा यही वर्षमात्र डायमन्डबाट एपिएफ निराश हुनुपरेको यो तेस्रो उपाधि भिडन्त हो। भदौमा पोखराको लामाचौरमा सम्पन्न राष्ट्रिय महिला भलिबल र असोजमा भएको एनभिए क्लब च्याम्पियनसिपका फाइनलमा एपिएफलाई नै हराएर डायमन्डले उपाधि जितेको थियो।

उता सातौं राष्ट्रिय खेलकुदमा महिला भलिबलको स्वर्ण पदक जितेको एपिएफका लागि फाइनलमा पराजित भएको यो लगातार दोस्रो प्रतियोगिता हो। यसै महिना सम्पन्न ढोरपाटन डबल लिगम हिला भलिबलमा पनि एपिएफ फाइनलमा निराश भएको थियो। फाइनलमा सात भारतीय खेलाडीको साथ पाएको रिड मोडलले एपिएफलाई पराजित गरेको थियो।

डायमन्डका प्रशिक्षक कुमार राईले डिफेन्समा सलिना श्रेष्ठ र समिक्षा घिमिरेले उत्कृष्ट प्रदर्शन गरेपछि उपाधि जित्न सहज भएको बताए। 'हाम्रो टिममा स्पाइकको नेतृत्व प्रतिभा मालीले गर्छिन। उनको स्पाइक हाम्रो मुख्य हतियार हो। सेकेन्ड स्पाइकर र डिफेन्सका कारण हामी महत्वपूर्ण प्रतियोगितामा निराश हुने गरेका थियौं,' प्रशिक्षक राईले भने, 'तर आज डिफेन्स र स्पाइक दुवैमा हामीले अहिलेसम्मकै उच्च प्रदर्शन गर्‍यौं। हाम्रो सफलताको रहस्य त्यही हो।'

प्रतियोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार डायमन्डकी स्पाइकर प्रतिभाले जितिन। उनले यामाहाको स्कुटर पाइन।  प्रतिभा फाइनल खेलको पनि उत्कृष्ट खेलाडी घोषित भएकी थिइन। एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपिएफकै नेविका चौधरी उत्कृष्ट ब्लकर, एपिएफकी कप्तान विनिता बुढाथोकी उत्कृष्ट सेटर, डायमन्डकी कृपा अधिकारी उत्कृष्ट सर्भर, डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट रक्षक र डायमन्डका राई उत्कृष्ट प्रशिक्षकबाट पुरस्कृत भए। आ–आफ्नो विधामा उत्कृष्ट हुने सबैले ५ हजार रुपैयाँ पाए।

उत्कृष्ट खेलाडी भएकी प्रतिभाले एपिएफको कोर्टमा उपाधि जित्नुले महत्वपूर्ण अर्थ राख्ने बताइन। 'फाइनल जित्ने लक्ष्य लिएर खेलेका थियौं। एपिएफ राष्ट्रिय खेलाडीले भरिभराउ टिम हो। त्यस्तो टिमलाई उनीहरुकै कोर्टमा हराउन सहज थिएन,' उनले भनिन, 'तर हाम्रो टिमका सबै साथीहरुले आफ्नो तर्फबाट सतप्रतिसत मेहनत गर्दै खेले। यो जितले डायमन्डका सबै खेलाडीको करियरमा हौसला थपेको छ।'

बिहीबारै तेस्रो स्थानको लागि भएको खेलमा पश्चिमाञ्चलले साबिक उपविजेता नेपाल पुलिस क्लबलाई २५–२१, २५–२१, २५–१७ को सोझो सेटमा हरायो। खेलमा पश्चिमाञ्चलकी कप्तान मञ्जु गुरुङ उत्कृष्ट खेलाडी घोषित भइन।

प्रतियोगिताको विजेता डायमन्डले २ लाख ५० हजार, उपविजेता एपिएफले १ लाख २५ हजार र तेस्रो भएको पश्चिमाञ्चलले ५० हजार रुपैयाँ पुरस्कार पाए।

एपीएफका प्रशिक्षक प्रकाश थपलियाले रिसिभ र डिफेन्समा कमजोरी हुँदा नतिजा गुमाएको प्रतिक्रिया दिए। 'मुख्य कमजोरी रिसिभमा भयो। त्यसले हाम्रो डिफेन्समा पनि असर पर्‍यो। काउन्टर अट्याक स्पाइकमा हामीले राम्रो गर्न सकेनौं,' उनले भने।

यसैगरी एपिएफका व्यवस्थापक विजय केसीले हारबाट पाठ सिक्नु पर्ने बताए। उलने भने, 'यो हारले हाम्रा कमजोरी सुधार गर्न सहयोग पुग्नेछ। प्रतिभाले सोचेभन्दा धेरै राम्रो खेलिन। उनलाई रोक्न नसक्नु हाम्रो हारको मुख्य कारण थियो।'

प्रतियोगिताका विजेता टिम तथा खेलाडीलाई सशस्त्र प्रहरी महानिरिक्षक दूर्जकुमार राईले पुरस्कृत गरे। पुरस्कार वितरण कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राईले राष्ट्रिय भलिबल टोलीका पूर्व खेलाडी जयनारायण चौधरी, अल्ट्रा धाविका मिरा राई, मुना राई चौधरी, जापान राष्ट्रिय भलिबल टोलीका पूर्व खेलाडी आसुका इचिजो र मिवाको कावावातालाई सम्मान गरेका थिए।

प्रकाशित: २१ माघ २०७३ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App