खेल

घरेलु प्रतियोगितामा एपिएफको उच्च फर्म

काठमाडौं– साबिक विजेता एपिएफ क्लबले सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

चिर प्रतिद्वन्द्व्री न्यु डायमन्ड एकेडेमीमाथि मंगलबार चार सेटसम्म मेहनत गर्दै २२–२५, २५–१२, २५–२२, २५–२३ को जित पाएको एपिएफले बुधबार अन्तिम चारमा पश्चिमाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ ।

सशस्त्र प्रहरी बलको हल्चोकस्थित भलिबल कोर्टमा घरेलु टोली एपिएफले जितका साथ अन्तिम चारमा स्थान सुरक्षित गरेको दिन अर्को विभागीय टोली नेपाल पुलिस क्लबले दोहोरो जित आत्मसात गर्‍यो। पुलिसले मंगलबार पहिलो खेलमा विभागीय प्रतिद्वन्द्व्री त्रिभुवन आर्मी क्लबमाथि २५–२०, २५–१४, २५–१४ को सोझो सेटमा जित हासिल ग¥यो भने दोस्रो खेलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई २५–१२, २५–१९, २५–२१ को नतिजामा पराजित गर्‍यो।

मंगलबार पराजित भए पनि न्यु डायमन्डले सेमिफाइनलमा स्थान पक्का ग¥यो । समूह ‘क’ बाट एपिएफ विजेताका हैसियतमा अघि बढ्दा न्यु डायमन्ड उप विजेताको हैसियतमा सेमिफाइनल पुग्यो । समूहमा एपिएफले न्यु डायमन्ड र जावलाखेलविरुद्धका दुवै खेल जितेको थियो । न्यु डायमन्डका लागि जावलाखेलमाथि हासिल गरेको एउटै जित सेमिफाइनल यात्रालाई पर्याप्त भयो।

सेमिफाइनलमा डायमन्डले साबिक उपविजेता नेपाल पुलिस क्लबसँग खेल्नेछ।

न्यु डायमन्डका प्रशिक्षक कुमार राईले डिफेन्स कमजोर हुँदा चौथो सेटमा लिएको अग्रता जोगाउन नसकेको बताए । चौथो सेटमा डायमन्ड २१–१९ ले अगाडि थियो । तर डिफेन्स कमजोर भएपछि डायमन्डले अग्रतालाई जोगाउन सकेन । ‘मंगलबारको खेलले टोलीको लक्ष्यमा असर नगर्ने भएकोले पनि हामीले सहज रुपमा खेल्यौं,’ राईले भने, ‘हामी सेमिफाइनल पुगिसकेका थियौं । हारले धेरै अर्थ राक्थेन । सेमिफाइनल र फाइनलमा जित्नु जरुरी छ । त्यसको लागि आजका गल्ति दोहो¥याउनु हुदैन ।’

पछिल्लो पटक एपिएफ र डायमन्डले एक साता अघि सकिएको ढोरपाटन डबल लिग महिला भलिबलमा प्रतिस्पर्धा गरेका थिए । पहिलो र दोस्रो दुवै लिगमा एपिएफले डायमन्डलाई हराएको थियो । तर साबिक विजेता एपिएफको उपाधि रक्षा अभियान त्यहाँ असफल हुँदा टोली उपविजेतामा सिमित भएको थियो । न्यु डायमन्ड भने तेस्रो भएको थियो । एपिएफलाई दुवै लिग निराश बनाउँदैं रिड मोडल कलेजले पहिलो पल्ट ढोरपाटन लिगको उपाधि जितेको थियो ।

एपिएफले सशस्त्र प्रहरी महानिरीक्षक कप भलिबल प्रतियोगितामा यसअघिका सबै चार संस्करणको उपाधि जितेको छ ।

प्रशिक्षकका रुपमा एपिएफको टोली नेतृत्व गरिरहेका नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान प्रकाश थपलियाले माल्दिभ्स यात्राबाट खेलाडी थकित भएर फर्केका कारण एक सेट गुमाउनु परेको बताए । फिभ महिला विश्व च्याम्पियनसिपको छनोट खेल्न माल्दिभ्स जाने राष्ट्रिय टोलीमा आफ्ना मुख्य खेलाडीहरु रहेकाले थकित भएको उनको भनाई थियो ।

टोली सम्हालेको चार महिनामा एपिएफलाई सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबलमा स्वर्ण पदक जिताएका थपलियाले भने, ‘खेलाडीहरु सोमबार राती अवेरमात्र फर्किए । त्यसले खेलमा केही असर ग¥यो।’

प्रकाशित: १९ माघ २०७३ ०२:०६ बुधबार

घरेलु प्रतियोगितामा एपिएफको फर्म