खेल

मनाङको लगातार पाँचौं हार

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट सुरुआत गरेको मनाङ मस्र्याङ्दी क्लबले पछिल्ला खेलमा भने जितलय भुलेको छ। लिगको सातौं चरणसम्म अपराजित रहँदै शीर्षताको दौडमा रहेको मनाङले त्यसपछि भने लगातार ५ खेल गुमाइसकेको छ। ७ खेलमा १५ अंक बटुलेको मनाङ १२ खेलको समाप्तिमा पनि १५ अंकमै सीमित भएको छ। मंगलबार एन्फा मुख्यालयमा सम्पन्न खेलमा मनाङले नेपाल पुलिस क्लबलाई १–० को नतिजा सुम्पिएको हो। खेलको सातौं मिनेटमा मोहमद आसिकले गरेको गोल पुलिसको जितमा पर्याप्त बन्यो।

मनाङले आठौं चरणमा सातदोबाटो युथ क्लब, नवौं चरणमा जावलाखेल युथ क्लब, दशौं चरणमा त्रिभुवन आर्मी क्लब र ११औं खेलमा एफसी खुमलटारलाई नतिजा सुम्पिएको थियो। मनाङ लिगमा लगातार ५ खेलमा पराजित भएको यो पहिलो पटक हो। कीर्तिमानी ८ पटकको विजेता मनाङ लगातारको खराब प्रदर्शनपछि आठौं स्थानमा यथावत् छ। पुलिस भने १२ खेलमा ९ अंकसहित १४औं स्थानमा यथावत् छ। मंगलबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी क्लब चर्च ब्वाइज युनाइटेडलाई हराउँदै १९ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ।  

१५औं मिनेटमा जिलेस्पीजंग कार्कीले गरेको गोलमा आर्मीले जित पक्का गरेको थियो। चर्च ब्वाइजको भने यो लगातार दोस्रो हार हो। पछिल्लो खेलमा चर्च ब्वाइजले शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई नतिजा सुम्पिएको थियो। चर्च ब्वाइज भने १२ खेलमा १८ अंकसहित चौथो स्थानमा झरेको छ। दशरथ रंगशलामा मंगलबार सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम (एनआरटी) माथि ३–१ को जित निकाल्यो। १४औं मिनेटमा राफिक अमिनुले गरेको गोलमा फ्रेन्ड्स क्लबले अग्रता लिएको थियो। मध्यान्तर हुन ४ मिनेट बाँकी रहँदा सञ्जीव विष्टले गोल गर्दा एनआरटी खेलमा फर्किएको थियो। पहिलो हाफको इन्जुरी समयमा टोरिक जेब्रिनले गरेको गोलमा फ्रेन्ड्सले पुनः अग्रता लियो। ७६औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गर्दा फ्रेन्ड्सले सहज जित पक्का गरेको थियो। फ्रेन्ड्स क्लब १२ खेलमा १४ अंकसहित १०औं स्थानमा उक्लिएको छ। एनआरटी भने समान खेलमा १३ अंकसहित ११औं स्थानमा झरेको छ।

प्रकाशित: १३ वैशाख २०८० ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App