खेल

कुवेतले सिङ्गापुरलाई हरायो, सेमिफाइनल पुग्ने सम्भावाना बलियो

तस्वीर साैजन्यः क्यान

कुवेतले सिङ्गापुरलाई पराजित गर्दै एसिसी मेन्स प्रिमियर कप अन्तर्रािष्ट्रय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावाना बलियो बनाएको छ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा कुवेतले सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको हो। जितका लागि सिङ्गापुरले दिएको ११४ रनको सामान्य लक्ष्य कुवेतले २६ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।  

कुवेतका लागि अदनान इद्रीशले २८ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै ३८ रन बनाए। त्यस्तै मित भावसारले ५० बलमा अविजित २७ रन बनाए। यासिन पटेलले २५ बलमा अविजित २१ रन बनाए भने शीराज खानले २० बलमा १० रन बनाए।  

बलिङतर्फ सिङ्गापुरमा अक्षय पुरी र विनोद बसकरनले समान दुई÷दुई विकेट लिए भने आदित्य भारगभ र थिलिपानी उमदुराईले समान एक÷एक विकेट झारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो। सिङ्गापुरका लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक ४५ रन बनाएका थिए। उनले ६० बलमा ४५ रन बनाए।  

 यसैगरी मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए भने थिलिपन उमरदुराईले १३ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। कुवेतका लागि कप्तान मोहम्मद अस्लाम एक्लैले पाँच विकेट लिए भने शिराज खानले ३ विकेट झारे।  

कुवेतले तीन खेलबाट चार अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छ। कुवेत पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएईं) सँग पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा कुवेतले बहराइनलाई पराजित गरेको थियो। अब बिहीबार हुने समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गरे कुवेत सेमिफाइनलमा पुग्नेछ।  

त्यस्तै यस खेलसँगै सिङ्गापुर भने अङ्कविहीन रहदै प्रतियोगिताबाट बाहिएको छ । समूह ‘बी’मा हङकङ तीन खेलमा पाँच अङ्क जोड्दै अङक तालिकाको शीर्ष स्थानमा छ भने समान खेल खेलको युएई चार अङ्कका साथ दोस्रो स्थानमा छ। बहराइन तीन अङ्क बटुल्दै अङ्क तालिकाको चौथो  स्थानमा छ।

प्रकाशित: १२ वैशाख २०८० १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App