खेल

पुरस्कारका लागि भूतपूर्व खेलाडीको साथ

पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको छाता संगठन नेपाल भूतपूर्व खेलाडी मञ्चले आगामी वैशाख २३ गते पोखरामा आयोजना हुने सातौं पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ।

 खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने अवार्डअन्तर्गत मञ्चले ‘लाइफ टाइम अचिभमेन्ट २०७९’ का लागि प्रायोजन गरेको हो। प्रायोजन स्वरूप भूतपूर्व खलाडी मञ्चले खेलकुद पत्रकार मञ्चलाई नगद २५ हजार रूपैयाँ प्रदान गरेको छ।

त्यस्तै सहारा हङकङले अवार्ड कार्यक्रमका लागि दश हजार रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। सहारा हङकङका अध्यक्ष दीपक गुरुङले मञ्चका अध्यक्ष दीननाथ बराललाई नगद हस्तान्तरण गरेका हुन्।

खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने अवार्डअन्तर्गत मञ्चले ‘लाइफ टाइम अचिभमेन्ट २०७९’ का लागि प्रायोजन गरेको हो।

पोखरामा आयोजना हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ का लागि आयोजक अन्तिम तयारीमा जुटेको छ। खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रमलाई भव्य बनाउन मूल आयोजक समिति तथा तेह्र वटा उपसमितिलाई कार्य विभाजन गरिएको छ।

अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने प्रचारप्रसार उपसमितिका संयोजकसमेत रहेका राजाराम पौडेलले बताए।

मञ्चले मंगलबारसम्ममा चारवटा विधाको मनोनयन सार्वजनिक गर्ने तयारी गरेको छ। वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ वर्ष २०७९ मा उनीहरूले प्राप्त गरेका उपलब्धि समेतलाई आधार बनाएर तीनतीन जनाको नाम छनोट गरेर नोमिनेसन सार्वजनिक गरिनेछ।

पोखरामा आयोजना हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ का लागि आयोजक अन्तिम तयारीमा जुटेको छ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रूपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारिक बिक्रेता कामारु ट्रेडिङ प्रालि, हाम्रो हस्तकला काठमाडौं, पब्लिक टेलिभिजन, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, वल्ड लिंक, फुडमान्डु, पश्चिमाञ्चल सामुदायिक अस्पताल लगायतले अवार्ड कार्यक्रमका लागि सहयोग गरेका छन्। 

प्रकाशित: १२ वैशाख २०८० ०१:५६ मंगलबार

सातौं पोखरा स्पोर्टस अवार्ड पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी खेलकुद पत्रकार मञ्च गण्डकी