खेल

आर्मीलाई प्रधान सेनापति कप

काठमाडौं- त्रिभुवन आर्मी क्लबले बिहीबार नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रधान सेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। लगनखेलस्थित आर्मी शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा शुक्रबार सबिक विजेता आर्मीले विभागीय प्रतिद्वन्द्वी पुलिस क्लबसँग पहिलो दुई सेटमा संघर्ष गर्नुपरे पनि तेस्रो सेटमा सहज नतिजा निकालेको थियो। निकै प्रतिस्पर्धात्मक रहेको पहिलो र दोस्रो सेटमा पुलिसले उत्कृष्ट प्रदर्शन गरे पनि आर्मीमाथि सफलता भने पाउन सकेन। जगदीस भट्टको प्रशिक्षणमा रहेको आर्मीले पुलिसलाई २५–२३, २५–२३, २५–१७ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक उपाधि उचालेको थियो।

प्रशिक्षक भट्टले पहिलो दुई सेटमा ७, ८ अंकको अग्रता लिए पनि आफ्नै गल्तिमा अंक गुमाउँदा संघर्ष गर्नु परेको बताए।

‘पहिलो दुई सेट केही दबाबमा भयो। ७, ८ अंकको अग्रता भए पनि आफ्नै गल्तिमा अंक गुमाउँदा केही गाह्रो भयो। हामी जित्नैपर्छ भन्ने मनस्थितीका साथ आएका थियौं। त्यही अनुरूपको नतिजा पनि आएको छ,’ पछिल्लो ६ महिनायता आर्मीलाई प्रशिक्षण गराइरहेका भट्टले भने, ‘पुरूष भलिबलमा हामी अन्य टोली भन्दा राम्रो छौं। हामीसँग २५–३० जना उस्तै खेलाडी छन। हाम्रो स्तरमा बृद्धी भएको छ। तर अझै खेलाडीको प्रतिभा निखार्नु पर्नेछ।’

आर्मीलाई लगातार दोस्रो पटक उपाधि जिताएका भट्ट उत्कृष्ट प्रशिक्षकबाट सम्मानित भए। उपाधि जिताउन महŒवपुर्ण भुमिका निभाएका आर्मीकै मानवहादुर श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भए। उनले पुरस्कार स्वरुप बजाजको पल्सर मोटरसाइकल हात पारे। त्यस्तै आर्मीकै धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर घोषित भए। सेटरको भुमिकामा रहेका आर्मीकै कप्तान हरिहजुर थापाले उत्कृष्ट ब्लकरको पुरस्कार जिते। आर्मीकै इश्वर थापामगर उत्कृष्ट डिफेन्डर घोषित भए। उत्कृष्ट सेटरको पुरस्कार भने पुलिस क्लबका कप्तान इम रानामगरले जिते। प्रत्येक विधामा उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ नगद पुरस्कार जिते।

उपाधि विजेता आर्मीले ३ लाख रुपैयाँ पायो भने उपविजेता पुलिसले १ लाख ५० हजार तथा तेस्रो भएको पश्चिमाञ्चल भलिबल संघले ७५ हजार रुपैयाँ हात पारे।

यसैबीच नेपाली सेनामा कार्यरत रहँदा १९७७ मा चीनमा भएको एसियाली स्तरको भलिबल खेलमा नेपालबाट सहभागिता जनाएका अवकास प्राप्त नेपाली सेनाका सहायक रथी विजयविक्रम खड्का र सेनानी अक्कलबहादुर चन्दलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानीत गरियो।

प्रकाशित: १५ माघ २०७३ ०३:११ शनिबार

आर्मीलाई प्रधान सेनापति कप